Logo

ओलीविरुद्ध नेपाल समूह राष्ट्रिय अभियानमा



काठमाडौं, चैत १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा गरेको निर्णय अमान्य र अस्वीकार्य भएको विश्लेषण गर्दै वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ रणनीति तय गर्न एक साताभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

ओली समूहले शुक्रबार बोलाएको केन्द्रीय समितिको बैठकले गरेका निर्णयको सशक्त प्रतिवाद गर्ने हिसाबले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो। ओली समूहले अर्को केन्द्रीय कमिटीको बैठक बोलाएको दिनको ठीक तीन दिनअघि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि एमालेभित्रको अन्तरसंघर्ष चरम बिन्दुमा पुग्ने देखिएको छ।

ओलीले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाई विधानविपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, अध्यक्ष र महासचिवबाहेक पद खारेज गर्ने, प्रदेश इन्चार्जको चयन तथा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापासहित २३ नेतालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थिए।

नेपाल समूहको शनिबार बसेको केन्द्रीय समिति बैठकले ओलीद्वारा शुक्रबार चालिएको कदमपछि उत्पन्न परिस्थितिले पार्टीमा गम्भीर रूपमा विचलन ल्याएको निष्कर्ष निकालेको छ। छलफलका क्रममा नेपाल समूहका सांसदसहित केन्द्रीय सदस्यहरूले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरू हरहमेसा तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने तर ओली प्रवृत्तिविरुद्ध कडा संघर्ष गर्नुपरे पछि नहट्ने धारणा राखेको स्रोतले बतायो।

अधिकांश सदस्यले पार्टी एकीकृत हुँदाको अन्तरसंघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएको अवस्था र यसबीचमा पार्टी अध्यक्ष ओलीले गरेको व्यवहारका आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने भएकाले नयाँ विकल्पबारे रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउनुपर्ने सुझाव दिएका थिए।

ओलीले शुक्रबार एकपक्षीय रूपमा प्रदेश संयोजक तोकेपछि नेपाल समूहले समानान्तर कमिटीको अभ्यास सुरु गरिसकेको छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्