Logo

गुट भेला गर्नेलाई कारबाही गर्ने ओलीको चेतावनी



काठमाडौं, चैत ४ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका छन्। विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन्।

पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। ओलीले २८ फागुनमा एकलौटी रूपमा आफ्ना पक्षका नेताहरूको जिम्मेवारी खोस्ने, केन्द्रीय कमिटीमा नेताहरू थप्नेलगायत निर्णय गरेको भन्दै नेपाल र खनाल पक्ष आक्रोशित देखिएको छ। उनीहरूले मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गरेका छन्। ओलीले नेपाल र खनाल पक्षका नेतातर्फ संकेत गर्दै एमालेमा बसेर अराजकता मच्चाउने छुट अब कसैका लागि पनि नभएको बताएका हुन्।

‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने रु लोकतान्त्रिक मूल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलव छैन। अहंकार स्वेच्छाचारिता। अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्। निहुँ खोजिरहेका छन्’, ओलीले भने, ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे। राष्ट्रिय भेलाबाट के–के समानान्तर कमिटी बनाउने अरे। समानान्तर होइन अर्को कमिटी बन्ला। कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ?’

तर, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलताजस्ता कुराहरू, विधि विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट नहुने ओलीले स्पष्ट पारे। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot