Logo

प्रधानमन्त्रीको दौड तिव्र, कस्ले मार्ला बाजी ?



काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनले प्रयासले गति लिएको छ । आफ्नो दल नेकपा एमालेभित्र विरोधीलाई कमजोर बनाउन केन्द्रित रहेका ओलीलाई अन्य दलहरुले समिकरण बनाएर हटाउने प्रयास थालेका हुन् ।

ओलीलाई हटाउने रणनीतिहरु विरोधी दल र नेताहरुले बनाएर अगाडि बढ्न खोजेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईलाई भेटेका छन् । यो भेट सत्ता समिकरणका लागि केन्द्रित भएको छ । तर, देउवा अझै ढुक्क बन्न सकेका छैनन् । प्रधानमन्त्री पदको प्रस्ताव आउँदा पनि देउवा ढुक्क नहुनुमा अन्य दाबेदार रहनु पनि कारण हो ।

ओलीविरोधी सत्ता निर्माणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बन्नुपर्छ । तर, समिकरण बन्दा तीनवटै दल फुट्न हुन्न । अन्यथा बहुमत पुग्दैन । पार्टीहरु एक भएको अवस्थामा मात्र समिकरण सफल हुन्छ ।

माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको दौडमा छन् । उनी प्रधानमन्त्री ओलीसँग लामो समययता जुध्दै आएका थिए । नेपाललाई प्रचण्डले साथ दिनुपर्ने अवस्था भएमा प्रधानमन्त्रीको बलियो दाबेदार हुन्छन् । यतिले मात्र पुग्दैन । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको साथ हुनुपर्छ । प्रधानमन्त्रीको दौड चल्दा सत्ता समिकरण नसोचेको जस्तो नहोला भन्न सकिदैन ।

प्रधानमन्त्री ओलीले आफू हट्ने अवस्था बनेमा जसपालाई सरकारमा ल्याउन समिकरणको प्रयास गर्नेछन् । उनले त्यो प्रयास गरिरहेका छन् । पछिल्लो समय जसपा अध्यक्ष महन्थ ठाकुरको बालुवाटार आवतजावत बढेको छ । ठाकुर नै प्रधानमन्त्री बन्ने गरी समिकरण बन्न पनि सक्छ । उनी पछिल्लो समय प्रधानमन्त्रीका मुख्य दाबेदारमध्ये मानिएका छन् ।

प्रधानमन्त्रीको दौडमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् । देउवालाई प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा साथ दिएमा प्रधानमन्त्रीको प्रस्ताव प्रचण्ड र नेपालले विगतमै गरेका थिए । तर, देउवाको भुमिका स्पष्ट देखिएको थिएन । देउवालाई प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव गर्दै आएका छन् । तर, उनी जसपाबाट ढुक्क छैनन् ।

जसपा नेता डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्रीको दौडमा छन् । भट्टराईको पक्षमा प्रचण्ड पनि देखिएका छन् ।

काँग्रेसभित्र देउवाको विकल्पमा अन्य नेतालाई प्रधानमन्त्रीका लागि बढाउने विषय पनि उठेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह र वर्तमान महामन्त्री डा.सशांक कोइराला पनि परिस्थिति बने पछि हट्ने अवस्थामा छैनन् ।

ओली कमजोर बनिहालेमा वामपन्थीकै सरकार बन्न पनि सक्छ । त्यतिबेला माधवकुमार नेपाल या प्रचण्ड अगाडि बढ्ने परिस्थिति पनि बन्छ । माधव नेपाल बलियो बन्ने सम्भावना कमजोर छ । तर, राजनीतिक पासा पल्टन पनि सक्छ । प्रचण्ड र माधव नेपाल एक हुने अवस्था आएमा वामपन्थीकै सरकार बन्ने सम्भावना पनि रहन्छ ।

देशलाई चुनावमा लाने प्रयास चलिरहेको छ । संविधान अनुसार चुनावमा लान खोजे अल्पमतको सरकार बनाएर ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । मंसिर या अर्को वैशाखमा चुनाव घोषणा गरेर जाने माहोल पनि बन्नसक्छ । चुनावका लागि गैरराजनीतिक व्यक्तिको नाममा सहमति बन्ने सम्भावना नभएको होइन । त्यतिबेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मौका पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot