Logo

महन्थ ठाकुरको प्रधानमन्त्री दाबी, सत्तासंघर्ष रोचक मोडमा



काठमाडौं, २२ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको नेतृत्व दाबी गरेका छन् । ठाकुरको दाबीले सत्तासंघर्ष रोचक मोडमा पुगेको छ ।

नेपाली काँग्रेसले सरकारको नेतृत्वको पहल गर्ने निर्णय गरेपछि ठाकुर असन्तुष्ट बनेका छन् । उनले निर्णायक शक्ति भएकाले सरकारको नेतृत्वको दाबी नछाड्ने अडान लिएको बुझिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा ठाकुरले जसपाले सरकारको नेतृत्व लिने विषय राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

ठाकुरनिकट नेता राजकिशोर यादवले पनि सधै अरुलाई सरकार बनाउन सहयोग गर्दै आएको स्मरण गराउँदै अब आफूहरुले नेतृत्व पाउनुपर्ने बताउँदै आएका छन् । जसपाको दाबीले सत्ता संघर्षले रोचक तरिकाले समिकरण बन्ने सम्भावना बढेको छ ।

ठाकुरको नाममा सहमति भएमा मात्र काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बन्ने सम्भावना बलियो छ । नेतृत्व नपाए ठाकुरको समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिने सम्भावना देखिदैछ । ओलीले जसपासहित काँग्रेस र माओवादी केन्द्रको समिकरण बन्न लागेमा ठाकुर समूहलाई आफ्नो पक्षमा ल्याउन सत्ता साझेदारीको राजनीतिक तुरुप फाल्ने सम्भावना पनि छ ।

ठाकुर समूहलाई महत्वपूर्ण मन्त्रालय दिनेगरी भरसक सहमति निकाल्ने नभए उनैलाई प्रधानमन्त्री बनाएर जाने सम्भावना पनि देखिदैछ । ओलीले जसरी हुन्छ आफूविरुद्ध सत्ता समिकरण बन्न नदिने रणनीति बनाएर सक्रियता देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot