Logo

देशलाई फेरि मध्यावधि चुनावमा लाने प्रयास



काठमाडौं, २३ चैत्र । देशलाई चुनावमा लाने प्रयासले फेरि गति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउने प्रयास चलिरहेपनि सफल हुन नसकेपछि देश मध्यावधि चुनावतर्फ बढ्ने सम्भावना बढेको हो ।

प्रधानमन्त्री ओली स्वयंले ताजा जनादेशको विषय उठाएका छन् । उनले चुनावबाटै निकास निकाल्ने विषय उठाएका हुन् । ओलीमात्र नभई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि चुनावको पक्षमा छन् ।

कानुनत ओली सरकार बहुमतमा छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्छ । त्यसपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसकेपनि ठुलो दलको हैसियतले ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यतिबेला देशलाई संविधान बमोजिम अर्ली इलेक्शनमा लाने अवस्था रहन्छ ।

ओलीको सत्ता बर्हिगमनका लागि अहिले माओवादी केन्द्र मात्र गम्भीरतापूर्वक लागेको छ । नेकपा एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल सक्रिय छन् । तर, माओवादी केन्द्रले न त काँग्रेसको समर्थन पाइरहेको छ न त राजपाको । यसकारण पनि ओली सत्तामै रहेका छन् । उनी देशलाई चुनावमा लान चाहिरहेका छन् ।

चुनावमा लाने शर्तमा ओलीलाई देउवा र महन्थ ठाकुरको पनि भित्री समर्थन हुनसक्ने संकेतहरु देखिएको छ । चुनावको लागि आन्तरिक सहमति र भित्री समिकरण बन्नसक्ने सम्भावना उत्तिकै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot