Logo

कारबाहीपछि बढ्यो कोषमा आबद्धता



काठमाडौं, असार ३ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा बैङ्क तथा वित्तीय संस्था आबद्ध हुने क्रम बढेको छ । कोषमा सूचीकृत नहुने रोजगारदाता तथा वित्तीय संस्था आर्थिक कारबाहीमा पर्न थालेपछि कोषमा सूचीकृत हुने क्रम बढेको हो ।

अर्कोतर्फ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कोषमा सूचीकृत भएर वैशाखसम्मको रोजगारदाता र कर्मचारीले जम्मा गर्नुपर्ने रकम जम्मा गरिसकेकाको जेठ र असार महिनाको योगदान रकम सरकारले बेहोर्ने घोषणा गरेको थियो ।

कोषमा रोजगारदाता प्रतिष्ठानले तिर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताको तलबबाट काटिने ११ गरी ३१ प्रतिशत रकम सरकारले बेहोर्ने भएको छ । बजेटमार्फत गरिएको आकर्षक व्यवस्थाका कारण पनि नयाँ सूचीकृत हुने क्रम बढेको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए।

कोषका अनुसार पछिल्लो पटक वाणिज्य बैङ्कतर्फ स्टान्डर्ड चार्टर्ड बैङ्कका ५०२, लक्ष्मी बैङ्क कोषमा सूचीकृत भई योगदानबापतको रकमसमेत जम्मा गर्न थालिसकेका छन्

यसैगरी विकास बैङ्कतर्फ ग्रिन विकास बैङ्क, कर्णाली विकास बैङ्क र देव विकास बैङ्क पनि कोषमा सूचीकृत भई कोषमा वैशाखको पैसा जम्मा गरिसकेका छन् । यस्तै फाइनान्सतर्फ ११ वटा कोषमा सूचीकृत भएकामा पाँचवटा क्रमशः गुडविल फाइनान्स, नेपाल फाइनाइन्स, आईसीएफसी फाइनान्स, पोखरा फाइनान्स, गोरखा फाइनान्सले पैसा जम्मा गर्न थालिसकेको कोषले जनाएको छ ।

त्यसैगरी इन्स्योरेन्स कम्पनीतर्फ ३५ वटा कोषमा सूचीकृत भइसकेकामा प्राइम लाइफ, सिटिजन, रिल्याइन्स, शिखर, सूर्य, सगरमाथा, सन नेपाल र प्रिमियमलगायतका आठवटा इन्स्योरेन्स कम्पनीले वैशाख महिनाको योगदानकर्ताको पैसा कोषमा जम्मा गरिसकेका छन् ।

यस्तै लघुवित्ततर्फ ३९ वटा कोषमा सूचीकृत भइसकेकामा जनउत्थान, लक्ष्मी, राष्ट्र उत्थान, वोमी, सपोर्टलगायत ११ वटाले वैशाखको पैसा कोषमा जम्मा गरिसकेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot