Logo

अदालतले अन्तरिम आदेश नदिएपछि जसपाको टुंगो भोलि निश्चित



काठमाडौं, १० साउन । जनता समाजवादी पार्टीको विवादमा को आधिकारिक भन्ने टुंगो भोलि लाग्ने निश्चित भएको छ । निर्वाचन आयोगका अलावा अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाई अर्का अध्यक्ष महन्थ ठाकुरले अन्तरिम आदेश जारी गरी आधिकारिकताको टुंगो रोक्न रिट दायर गरेकोमा सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुरले वारेसनामामार्फत् दर्ता गरको निवेदनबमोजिम गर्नुनपर्ने भन्दै १५ साउनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ११ साउनमा आयोगले टुंगो लगाउने भएकोमा त्यसपछि मात्र छलफलका लागि बोलाएको हो ।

भोलि हेड काउन्ट गरी दलको आधिकारिकता सम्बन्धी विवाद निरुपण गर्ने तय भएको छ । जसपाको कुल ५१ मध्ये उपेन्द्र यादवसँग अहिले ३२ जना कार्यकारिणी समिति सदस्य छन् ।

२४ असार २०७७ मा निर्वाचन आयोगमा दर्ता भएको जसपा तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरण भई बनेको थियो । त्यतिबेलाको पार्टी कमिटी नै वैधानिक मान्दै आयोगले निर्णय लिन लागेको हो । तर, ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समितिका सदस्य थपेर अद्यावधिक गर्नुपर्ने माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot