Logo

११ यादव मन्त्रीका आकांक्षी बनेपछि उपेन्द्रलाई सकस



काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टीको आधिकारिता पाएपछि एकल अध्यक्ष बनेका उपेन्द्र यादवलाई आन्तरिक व्यवस्थापन नयाँ चुनौती बनेको छ । जसपाका ३२ सांसदमध्ये उनको साथमा २० सांसद देखिएका छन् । जसमध्ये ११ जना यादव थरका छन् भने ९ जना गैरयादव थरका छन् ।

महन्थ ठाकुर समूहमा यसअघि रहेका कतिपय यादव थरका सांसदले पनि अन्तिम समयमा गुट परिवर्तन गरेका थिए । उपेन्द्रलाई यादवहरुको साथ त भयो तर सरकारमा मन्त्री पठाउँदा कतिजना यादव पठाउने भन्ने चुनौती देखिएको छ ।

विश्वस्त स्रोतका अनुसार जसपाले ७ मन्त्रालय पाउने भएको छ । उपेन्द्र यादव आफै सरकारमा जाने तयारीमा छन् । मन्त्री बन्ने दौडमा अधिकांश यादव थरकै रहेका छन् । महेन्द्र राय यादव र डा. सुरेन्द्र यादवलाई मन्त्री बनाउने भएका छन् । विगतमा उपेन्द्रको कोटाबाट मन्त्री बन्दै आएकी रेणु यादव पनि मन्त्रीकी आकांक्षी हुन् ।

मृगेन्द्रकुमार सिंह यादव, रामसहाय प्रसाद यादव, प्रदीप यादव, रामबाबु कुमार यादव, प्रमिला यादव, डा. सुर्यनारायण यादवका अलावा हालै गुट परिवर्तन गरेका राजकिशोर यादव पनि मन्त्रीका आकांक्षी हुन् । ७ मन्त्री पाउँदा ४ जना यादव थरकालाई बनाउँदा उपेन्द्रमाथि साम्प्रादायिक बनेको आरोप लाग्न सक्छ । अर्कोतर्फ, जसपाको डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर रुष्ट हुन सक्छ ।

अप्ठ्यारो समयमा साथ दिने यादव थरका सांसदलाई पन्छाएर अरुलाई मन्त्री बनाउँदा उपेन्द्रलाई अप्ठ्यारो छ । त्यसैले उनी निकै समस्यामा परेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot