Logo

एक हप्ताभित्रै सरकारमा जान्छौं, नयाँ पार्टीको नाम एकीकृत कम्युनिष्ट यस्तै केही राख्छौं : मेटमणि चौधरी



नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु नयाँ पार्टी खोल्नेगरि छलफलमा जुटेको बताएका छन् । तर, अहिले छलफलमै भएकोले के हुन्छ ? भनेर यसै भन्न नसकिने पनि उनले स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद चौधरीले आफूहरुले नयाँ पार्टी बनाएपनि कम्युनिष्ट विचारधारा भने नछोड्ने जिकिर गरे । प्रस्तुत छ नेता चौधरीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरुले नयाँ दल खोल्दै हुनुहुन्छ भन्ने चर्चा छ, दलको नाम के राख्नुभयो त ?

अहिले हामी यसबारे छलफलमा छौं । कम्युनिष्ट पार्टी नछोड्ने कुरा छ । अब के हुन्छ हेरौँ ? सबै खालका कम्युनिष्टहरुलाई जोडेर सबैको विचारलाई सुनेर निश्कर्ष निकाल्ने कुरा होला । तर, यसबारेमा अझैपनि टुङ्गो भएको छैन ।

पार्टीको नाम के राख्नुहुन्छ ? नेपाल कम्युनिष्ट पार्टी कि के ?

कम्युनिष्ट छुट्दैन । त्यसको पछाडि केही केही जोडिएला ।

नेपाल कम्युनिष्ट पार्टी एमाले राख्न मिल्दैन होला के राख्नुहुन्छ त अब ?

अब एकीकृतलाई पनि सम्बोधन हुने, कम्युनिष्ट पार्टी पनि समेट्ने । यो दुई वटा चिज नछुट्ने गरेर नाम हुन्छ ।

उसो भए पार्टीको नाम जुराउने तहसम्म तपाईँहरु पुगिसक्नुभएको हो त ?

एउटा कम्युनिष्ट अर्को एकीकृत त्यसमा यताउता हुनसक्छ ।

त्यसोभए कहिलेबाट पार्टी एकीकृत गर्ने प्रक्रिया अगाडि बढाउनुहुन्छ ? नयाँ पार्टीको घोषणा कहिले गर्नुहुन्छ ?

अब ओलीले पार्टी विभाजन गरिसकेका छन । त्यसपछि हामी पनि राजनीतिक प्राणीको हिसाबले पार्टी त बनाउनैपर्छ । त्यसैले उनले अहिले व्यवहारिक रुपमा अगाडि बढाएका छन । जुनदिन उनले घोषणा गर्छन्, त्यो दिन हामीले पनि बनाउँछौँ ।

अध्यक्ष केपी ओली त धेरै अघि बढिसक्नुभएको छ नि ? उहाँले विधान अधिवेशन गर्ने भनेर तयारी थालिसक्नुभएको छ त ? विधानमा अध्यक्षलाई शक्तिशाली बनाउने खासगरी एकल नेतृत्वमा पार्टीलाई लिएर जाने भन्ने कुरा आएको छ, यसमा तपाईको सहमति कि विमति ?

होईन, सहमति हुने त कुरै भएन नि । सहमति भएको भए त हामी त्यही रहने थियौँ । असहमति भएकै कारणले आज हामी यो ठाउँमा आईपुगेको हो । त्यसैले जुन दिनदेखि अर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग बस भनेर भनेको थियो, त्यसपछि पनि ओलीले आफ्ना गुटका मान्छे मात्रै राखेर थुप्रै निणर्य गर्ने कामहरु गरे । त्यही दिनदेखि नै एमालेलाई विभाजन गरिसकेको अवस्था थियो । तर, पनि नेकपा (एमाले) लाई एक ठाउँमा ल्याउन सकिन्छ कि मिलाउन सकिन्छ कि भनेर म्याक्सिमम हाम्रो तर्फबाट प्रयास र पहलहरु भए । तर, हाम्रो प्रयासले मात्रै नहुने रहेछ । किनकी ओलीले पार्टी विभाजन गर्ने एक खालको कमिटमेन्ट नै गरिसकेका रहेछन । त्यसैले हामीले चाहेर पनि एमालेलाई एकीकृत गर्ने अनि पार्टीलाई सग्लो राख्ने कुरा सम्भव भएन । त्यसैले अब ओलीले पार्टी विभाजन गरिसकेपछि हामीले कि त ओलीको टाङमुनि छिर्नुपर्ने अवस्था कि त नयाँ पार्टी निर्माण गर्नुपर्ने अवस्था यो दुई ओटा अवस्थामध्ये एउटा नयाँ पार्टी निर्माण गर्नुपर्ने कुरालाई हामीले नेपालभरिकै कम्युनिष्टहरुलाई नयाँ पार्टीसंग जोड्ने कुरा अनि एकीकृत बनाउने कुरा हाम्रो विचार त हामीसंग जति मिल्न सक्छन । सबैसंग मिल्ने कुरा त्यो ठाउँमा हामी आईपुगेका छौँ । यो हाम्रो निश्चय ठुलो बाध्यता हो ।

तपाईँहरु अहिले एमाले छोड्नेगरि विद्रोहको तयारीमा हुनुहुन्छ हो ? तपाईँहरुसंग अहिले कति जना सांसद र कति जना केन्द्रीय सदस्य हुनुहन्छ ?

केन्द्रीय कमिटी अब हरेक परिघटनामा केही सांसद्हरु छुट्छन केही सांसद्हरु थपिन्छन । त्यसैले आजकै दिन आजकै मितिमा सबै कुरा भन्न सकिन्न् । तर पनि हामीसंग आजको दिनमा करिव करिव ३८ को संख्यामा सांसद् र ८०–८५ को संख्यामा केन्द्रीय सदस्यहरु हुनुहुन्छ ।

तपाईँसंग ३८ जना सांसद् छन ?

हो ३८ जना सांसद् हामीसंग हुनुहुन्छ ।

अस्ति त २२ जनाले शेरबहादुर देउवालाई मतदान गरेको होईन ?

त्यो त सल्लाहले होला नि त, कसले भोट हाल्ने अनि कसले भोट नहाल्ने भन्ने थियो होल नि ।

भीम आचार्य, डा. भीमबहादुर रावल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, रघुजी पन्त त केपी शर्मा ओलीतिर जानुभयो नि त ?

उहाँहरु जानुहुन्न । उहाँहरुले केपी शर्मा ओलीलाई भोट हाल्नुभयो र ?

उहाँहरुको चाहना छ, केपी शर्मा ओलीलाई साथ दिएर पार्टी एकता गराउने होईन ?

होईन, त्याृे होईन । त्यसो भएको भए त ओलीले बोलाएको बैठकमा गईसक्नुहुन्थ्यो नि त । उहाँहरुलाई थाहा छ । मज्जाले थाहा छ । केपी ओली कस्ता मान्छे हुन भनेर ? अनि ओलीले किन पार्टी विभाजन गर्न खोजिरहेका छन ? किन एकता गर्न दिईरहेका छैनन् ? यी सबै कुरा हाम्रो सिनियर कमरेडहरुले बुझनुभएको छ । उहाँहरु केपी ओलीसंग कुनै पनि हालतमा जानुहुन्न लेखेर राख्नुहोस् ।

त्यसोभए अब उहाँहरुले माधवकुमार नेपाललाई छोड्नुहुन्न ?

माधवकुमार नेपाललाई छोड्ने÷नछोड्ने भन्दापनि हामीहरुसंगै रहन्छौँ । कम्युनिष्ट पार्टीमा एउटाको नेतृत्वमा हुनेनै भयो । तर पनि यसको पछि लाग्ने हो वा होईन भन्ने भन्दापनि ईमान्दारिता, दर्शन र विधि विधानको पक्षमा लागेको न हो ।

तपाईँहरुले संसदीय दलमा त ४० प्रतिशत पुर्याउने सामर्थता राख्नुभएन नि ? किन तपाईँहरु पार्टीभित्र कमजोर देखिनुभयो नि त ?

हामीहरु कमजोर नदेखिएर कसरी बलियो देखिन्छौँ त । यो सामान्य कुरा हो ।

केन्द्रीय सदस्य पनि तपाईँहरुले ४० प्रतिशत पुर्याउन सक्नुभएन नि त ?

अध्यक्ष भैसकेपछि स्वभाविक रुपमा उसले जति अपराध गरेपनि जति गल्ती गरेपनि मान्छेले विद्रोह गर्नसक्ने रहेनछन । अहिलेको घटनाले त्यस्तो देखाएको छ । मान्छेलाई मनमा लागेको छ । ओली ठिक छैनन् बदमास छन । कम्युनिष्ट आन्दोलन सक्दैछन भन्ने कुरा थाहा हुँदाहँुदै धेरै मान्छे यस्ता छन । यो कुरा थाहा छ, तर विद्रोह गर्न सकिरहेका छैनन् । धेरै माननीयज्युहरुलाई थाहा छ । तर, बोल्न सकिरहनुभएको छैन । यसले जुनदिन पार्टी विभाजन हुन्छ । त्यसपछि एउटा घट्ना प्वाईन्टमा पुग्छौँ । त्यो दिन करिव ३० जना माननीय ज्युहरु भनाईहरु स्पष्ट पार्नु हुनेछ र एउटा कित्ता चुज गर्नु हुनेछ र छान्नु हुनेछ । तपाईँ हेर्दै जानुहोस् ।

त्यसोभए अब तपाईँले नयाँ दल गठन गरिसकेर मात्र सरकारमा जाने हो ?

अब नयाँ दल नबनाईकन कसरी सरकारमा जाने हो र ? अब हामीले नै प्रतिनिधिसभाको पुरै कार्यकाल सरकार बनाएका छौँ । हामी नै नरहनेगरि हामी किन सरकारमा जाने भन्ने खालका प्रश्नहरु उठिरहेको छ । यसले कानुनी रुपमा कसरी सम्वोधन गर्ने त्यो कुरा छ । यस विषयमा छलफल चलिरहेको छ । यो भनिरहँदा नेकपा एमालेको बीचमा एकता हुने कुरा पुर्णरुपमा सकिएको छैन ।

तपाईँहरुको पार्टीमा त अब एकताको ढोका बन्द भैसक्यो रे नि त ? केपी शर्मा ओलीसंग एकता हँुदैन भनेर यहाँहरुले निश्कर्ष निकाल्नुभएको हो ?

सहकार्य त हुँदै हुँदैन । हाम्रो तर्फबाट ढोका त खुल्लै राख्नुपर्यो नि त । उनीहरुपो अपराधी हुन । अपराधिक काम गरेका छन । तर, हाम्रो तर्फबाट नेकपा एमाले पार्टीलाई विभाजन नगरौँ भन्ने कुरा न हो ।

त्यसोभए अझैपनि एक हुने सम्भावना छ ? नेताहरुको विचमा कुरा मिल्छ त ?

०.१ प्रतिशत अझैपनि बाँकी होला, कहिलेकाहीँ ०.१ प्रतिशतले पनि ०.९९ प्रतिशतलाई पनि जित्नसक्छ । तर पनि यति चाँडै आजकै दिन अथवा यसैवेला पार्टी एकताको सम्भावना छैन ।

त्यसो अब एकताको सम्भावना छैन ?

एकताको सम्भावना छैन, तर पनि हामीहरु त एकताको लागि खुल्ला छौं ।

अब सरकारमा तपाईँहरु एक हप्ताभित्र जाने कि दुई महिनाभित्र जाने त ?

धेरै दिन लाग्दैन् । एक हप्ताभित्रै होला ।

एक हप्ताभित्र छिनोफानो हुन्छ सरकारमा जाने कुरा ?

हो, अब एक हप्ताभित्र टुङ्गिहाल्छ ।

त्यसोभए शेरबहादुर देउवाले अहिले मन्त्रिपरिषद् विस्तार नगर्ने ?

उहाँले के गर्नुहुन्छ, थाहा छैन । तर हामी एक हप्ताभित्र सरकारमा जान्छौँ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot