Logo

संसद् विघटन गर्नु संविधानमाथि प्रहार होइनः एमाले प्रवक्ता



काठमाडौं, असोज ३ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले संविधान कार्यान्वयन सकारात्मक दिशामा गएको र यसको स्वीकार्यता बढ्दै गएको दाबी गरेका छन् । संविधान आफैंमा खराब नभए पनि त्यसको मर्मबाट विचलित भएर सत्तालिप्सा र अनैतिकता प्रकट हुनुचाहिँ चुनौती भएको उनको विश्लेषण छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भने, ‘हामी संविधान कार्यान्वयनमा चुकेका छैनौं, क्रमशः अघि बढ्दै गएका छौं । विगत ६ वर्षमा पचासौं कानुन बने, संविधानका प्रत्येक दफा कार्यान्वयनका क्रममा छन् । संघीयता कार्यान्वयन भएर तीनै तहका सरकार क्रियाशील छन् । विभेदको अन्त्य, समानता र सामाजिक न्याय कार्यान्वयनको प्रयास सुरु भएका छन् । बीचमा केही उतारचढावको सामना गरे पनि अब हरेक सरकारले समतामूलक समाज निर्माणका लागि संविधान कार्यान्वयन नगरी धर पाउँदैनन् ।’

संविधानमा केही विमति रहे पनि संविधानै नमान्ने कोही नभएको उनको दाबी छ । उनले थपे, ‘संविधान जारी गर्दा महन्थ ठाकुर, उपेन्द्र यादवहरुको पार्टी विरोधमा थिए । पछि उनीहरु आफैं सरकारमा गए । देश विखण्डन गर्छुु भन्ने सीकेराउत र हतियार उठाएका नेकपाको विप्लव समूह शान्तिपूर्ण बाटोमा आएका छन् । यसलाई संविधान कार्यान्वयन सकारात्मक दिशामा गएको ठानेको छु । संविधानबाट कोही असन्तुष्ट होलान्, तर संविधान नमान्ने कोही छैनन् । संघीयताको वित्तीय, प्रशासनिक र कानुनी पक्ष कार्यान्वयन भएर जनताले घरघरमै सुविधा पाएका छन् । त्यसैले संविधान स्वीकार्य बन्दै गएको छ ।’

संसद् विघटन गर्नु संविधानमाथि प्रहार नभएको पनि उनले बताए । उनले भने, ‘संसद् विघटन गर्दा संविधानमाथि प्रहार हुन्छ र रु जनताको बीचमा गएर नै लोकतन्त्र बलियो हुन्छ । तर हामीकहाँ जनताले फैसला गर्न पाउने कुरालाई अदालतमा जिम्मा लगाएका छन् । संविधानको मर्मबाट विचलन हुनुमा समस्या हो । नैतिकता र बारबन्देज नाघेर सत्तालिप्सा देखाउनु पो समस्या हो ।’

सभामुख अग्निप्रसाद सापकोटाका कारण संसद् अवरुद्ध हुन पुगेको उनले बताए । ज्ञवालीले भने, ‘संसदीय प्रणालीमा सरकार सत्तापक्षको हुन्छ, संसद् विपक्षको । तर एमालेलाई जसरी पनि विभाजित गर्ने गलत कानुन ल्याइयो । पार्टी अनुशासन नमान्ने १४ सांसदमाथि गरिएको कारबाही निर्वाचन आयोग र सभाुमखले कार्यान्वयन गरेनन् । सभामुखको भूमिका निष्पक्ष भएन । देशमा दुइटा कानुन भएजस्तो गरे ।’ कार्यक्रममा उनले जनतालाई जागरुक र सचेत बनाउने काममा निरन्तर लागिरहन नेपाली रेडियो नेटवर्कलाई शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot