Logo

उपभोग्य वस्तुको भण्डार पर्याप्तः सरकार



काठमाडौं, असोज १३ । नजिकिँदै गरेका दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने सरोकारवाला निकायहरूले बताएका छन् । अहिले बजारको आपूर्ति प्रणालीमा कुनै अवरोध नभएकाले खाद्यवस्तु दाल, चामल, चिनी, गेडागुडी, खानेतेल र खाना पकाउने एलपी ग्यास सबैको उपलब्धतामा सहजता उत्पन्न भएको बताइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र नेपाल आयल निगमले काठमाडौंमा गरेको बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश पाण्डेले चाडबाडको समयमा खपत बढ्ने भएकाले त्यही मौका छोप्दै केही मानिसले बजारमा विभिन्न खाद्यवस्तुलगायत एलपी ग्यास र पेट्रोलियम पदार्थको अभाव हुने हल्ला फैलाउन सक्ने भएकाले उपभोक्तालाई सजग रहन आग्रह गरे ।

आपूर्ति प्रणालीमा कुनै समस्या नभएकाले बजारमा अहिले कुनै पनि उपभोग्य वस्तुको अभाव नरहेको उनले दाबी गरे । बजारमा अहिले चिनीको अभाव हुनसक्ने भन्दै अनावश्यक हल्ला सुनिन थालेकाले त्यसमा विश्वास नगर्न सबै उपभोक्तालाई उनले आग्रह गरे । उनले भन्सार विभागले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्दै नेपालमा प्रत्येक वर्ष २ लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेको बताए ।

विभागको तथ्यांकअनुुसार गतवर्ष नेपालमा २ लाख १२ हजार मेट्रिक टन चिनी आयात भएको थियो भने नेपाली उद्योगीहरूले १ लाख ७० हजार मेट्रिक टन चिनी उत्पादन गरेका थिए । आयात भएको र स्वदेशी उत्पादन जोड्दा ३ लाख ५७ हजार मेट्रिक टन चिनी बजारमा उपलब्ध हुन्छ । त्यसैले यो तथ्यांकअनुसार चिनी अभाव हुन नसक्ने उनको विश्वास छ । बजारमा कुनै पनि वस्तुको अभाव हुन नदिन सरकार प्रतिबद्ध रहेको उनले बताए ।

खाद्यान्नको पर्याप्तता त बजारमा छँदै छ, त्यस सँगसँगै खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको समेत पर्याप्त मौज्दात रहेको बताइएको छ । एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले अहिले महामारीको प्रभावका कारण ठूलो मात्रामा ग्यासको खपत हुने ठूला होटेल, रेस्टुराँ र पार्टी प्यालेसहरू राम्ररी सञ्चालन नभएकाले ग्यासको खपत घटेकाले अभाव हुने सम्भावना निकै कम रहेको बताए । उनका अनुसार सामान्य अवस्थाको तुलनामा अहिले बजारमा ग्यासको खपत करीब ३७ प्रतिशतले घटेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्