Logo

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत



काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ ।

मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम मुलुककै गौरवको योजना हो । हामीले ई–बिडिङबाट विधि, प्रक्रिया र खरिद ऐनलाई टेकेर काम गरेका छौं । तर अख्यितारले जुन किसिमले मिडियाबाजी गरेर छापा मार्यो, त्यसले हामीलाई भ्रष्टाचारी भनेर बदनाम गर्ने दुस्प्रयास गरिएको छ ।”

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई फोनमा आफूले नधम्काएको पनि उनले बताए । उनले थपे, “मुख्यमन्त्री कार्यालयको छानबिन गर्दा मलाई कुनै आपत्ति छैन । दोषी छ भने कारबाही गरे पनि हुन्छ । तर नाटकीय रुपमा भएको मिडियाबाजीका विषयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग मैले फोन गरेर शैली गलत भएको बताएँ, उहाँले पनि स्वीकार गर्नुभयो । अख्यितार भनेको पनि आकाशबाट, इन्द्रलोक, चन्द्रलोक या अर्को संसारबाट आएको त होइन नि ?”

संघीयता विरोधीले प्रदेश सरकारविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ । उनले भने, “म विगतदेखि नै संघीयतालाई बलियो बनाउन लागेको व्यक्ति हुँ । भ्रष्टाचार विरुद्ध पनि लडिरहेका व्यक्ति हुँ । त्यस्तो व्यक्तिलाई भ्रष्ट भन्ने ? त्यो खरिद प्रक्रियामा त हामीले साढे ३ करोड रुपियाँ बँचाएका हौं ।”

मुख्यमन्त्री राउतले आफूले त्यस प्रकरणमा राजीनामा नदिने पनि बताए । उनले भने, “म छानबिनमा सहयोग गर्न तयार छु । मेरो छापामारी प्रक्रिया र नाटकीय प्रस्तुतिमा हो । कसैले भ्रष्ट भन्दैमा मैले किन छाड्ने ? कसैले आरोप लगायो भन्दैमा छाड्नुपर्छ र ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot