Logo

प्रदेश सरकार निकम्मा, भाडा समायोजन नगर्दा यातायात व्यवसायीको बिजोग छः सिटौला



काठमाडौं, असोज १९ । यातायात व्यवसायी राष्ट्रिय महासंघका नेता सरोज सिटौलाले संघीय सरकारले गरेको भाडा समायोजनमा प्रदेश सरकार निकम्मा बनेको आरोप लगाएका छन् । कोभिड, वर्षात्का बीच दसैं-तिहारमा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउनु चुनौतीपूर्ण भएको उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले भने, “यातायातको भाडा २०६९ सालदेखिको यथावत् छ । संघीय सरकारले तीन महिना अघि नै २८ प्रतिशत भाडा समायोजन गरे पनि प्रदेश सरकारको निकम्मापनका कारण यातायात व्यवसायी तेल हाल्ने पैसा नभएर गाडी थन्काएर सडकमा आउनुपर्ने स्थिति छ ।”

उनले थपे, “हामी कति पटक हेटौंडा धाइसक्यौं । तर संघीय सरकारले असार २७ गते गरेको वैज्ञानिक अन्तर प्रदेश भाडा समायोजन हुन सकेन । त्यसैले खबरदारी गरिरहेका छौं । लकडाउनले थला परेको यातायात व्यवसाय झन् तहसनहस भएको छ । यातायात व्यवसायी पनि नेपाली नागरिक हुन् । उनीहरु संकटग्रस्त छन् । उनीहरुलाई संरक्षण गर्नु राज्यको दायित्व हो ।”

सिटौलालले कोभिड र वर्षात्का कारण दसैं–तिहारमा यात्रुलाई गन्तव्यसम्म पुर्याउनु चुनौतीपूर्ण रहेको बताए । उनले भने, “हामीले असोज ११ गतेबाट अग्रिम बुकिङ खुला गर्यौं । खासै उत्साह छैन । अहिले दैनिक साढे तीन लाख दैनिक यात्रुले उपत्यका छाडिरहेका छन् । नौबीसे सुरुङमा तीनचार घण्टा जाममा बस्नुपर्छ । सुनवल र दामनमा गाडी पटक पटक पल्टिरहने भएकाले जाम हुन्छ । पहाडी क्षेत्रका बाटोमा खाल्डाखुल्डी छन् । यात्रुप्रति हामी संवेदनशील छौं तर सरकारले पनि भाडा समायोजनदेखि लिएर असोज २१ गते मेची महाकालीकासबै पर्मिट खुला गरोस् ।”



प्रतिक्रिया दिनुहोस्