Logo

चीनमा सी चिनफिङ झन् बलियो बन्दै, पार्टी प्लेनममा महत्वपूर्ण दस्तावेज ल्याउने



एजेन्सी, २१ कात्तिक । चीनमा राष्ट्रपति सी चिनफिङको विचारधाराले अझ प्रभाव जमाउने भएको छ । सी माओत्से तुङ पछिका शक्तिशाली नेताका रुपमा प्रस्तुत गर्न थालिएका छन् । उनको विचारधारा चीनको संविधानमै प्रतिस्थापन गरिएको छ ।

सी विचारधाराको अध्ययन अध्यापनको दायरा बढाउन थालिएको छ । उनी आजीवन चिनियाँ कम्युनिस्ट पार्टीको नेता बन्नसक्ने दस्तावेज पारित भइसकेको छ ।

चिनियाँ मिडियाले सी चिनफिङको गुनगान गाउन थालेका छन् । चीनमा सन् २०२१ लाई निकै महत्वपूर्ण वर्ष मानिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूगेकोले पनि महत्वपूर्ण मानेको हो । यसबीच सीले चीनलाई शक्तिशाली देश बनाएको विषय ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

एक सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीको योगदान, मुख्य उपलब्धि र ऐतिहासिक अनुभवसहितको दस्तावेजलाई चिनफिङले आउँदो हप्ता पार्टी प्लेनममा प्रस्तुत गर्ने भएका छन् । यो विषय चिनियाँ विदेश मामलाबारे जानकारी दिने ग्लोबल टाइम्स पत्रिकाले उल्लेख गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीले ७२ वर्ष शासन गरिसकेको छ । माओत्से तुङ, देङ स्याओपिङ, जियाङ जेमिन र हु जिन्ताओले शासन गरिसकेका छन् । हु जिन्ताओपछि सी चीनको नेता बने । सन् २०१२ देखि चीनमा सीको शासन चलिरहेको छ ।

चीनमा कम्युनिस्ट पार्टीका महासचिवनै राष्ट्रपति बन्ने परिपाठी छ जो दुई कार्यकाल मात्र बन्न पाउँथे । सी चिनफिङले आफूलाई बाँचुञ्जेल चीनको नेता बन्न पाउने गरी विधान नै परिवर्तन गरिसकेका छन् ।

सीलाई ग्लोबल टाइम्सले प्रतिवद्धता र एक्सन भएको मान्छे भनेको छ । विचार र भावना रहेको नवीनतासहित विरासत धान्न सक्षम नेता भनेको छ । निरन्तर काम गर्न सक्ने, दृष्टिकोण भएको नेताका रुपमा व्याख्या गरिएको छ ।

सी चिनफिङको नेतृत्वमा चीन शक्तिशाली देश बनेको च्यानल न्युज एशियाले भनेको छ । सँसारले सीको कदमलाई नजिकबाट नियालिरहेको भनिएको छ ।
सी जनतासँगै बढ्न सक्ने, जनताको सामान्यभन्दा सामान्य समस्याबारे चासो राख्ने नेता भनिएको छ ।

सीले आफ्नो फुर्सदिलो समयमा पुस्तकहरु पढ्ने गरेको ग्लोबल टाइम्सले लेखेको छ । कार्ल माक्र्सद्वारा लिखित पूँजी पुस्तक तीन पटक पढेको भनिएको छ । उनी निबन्ध लेख्न गर्दथे । किसानहरुको उपचारका लागि व्यक्तिगत रकम सहयोग गर्थे ।

सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीमा पुगेका सी उपराष्ट्रपति बने । त्यतिबेला उनले पार्टी संगठन निर्माण, हङकङ र मकाओ मामला देखि सन् २००८ को बेइजिङ ओलम्पिकको तयारीको जिम्मेवारी पाए ।

५९ वर्षको उमेरमा सन् २०१२ मा सीले पार्टी नेतृत्वको जिम्मेवारी पाएका थिए । सी यति शक्तिशाली भए कि सी चिनफिङको विचारधाराबारे चीनको संविधानमै प्रतिस्थापित गरियो । सी विचारधाराबारे चीनमा अध्यापन गराउन थालियो । नेपालमा समेत यो विचारधारालाई यहाँका कम्युनिस्ट पार्टीहरुले बहसको विषय बनाउन थाले ।

खुशी कडा परिश्रमबाट प्राप्त गर्न सकिन्छ, सीले भनेका छन् । उनी आफै कृषी क्षेत्रमा विशेष ध्यान दिन्छन् । चीनको निर्माणमा प्रगतिबारे बुझ्न फिल्डमै खटिन्छन् । सीले यस वर्ष तिब्बतको भ्रमण गरेर विकास आयोजनाबारे जानकारी लिएका छन् ।

सीको कार्यकालका सन् २०१३ देखि २०२० भित्र चीनको कुल ग्राहस्थ उत्पादन सरदर ६.४ प्रतिशतले प्रतिवर्षका दरले वृद्धि भएको छ । चीनले विश्वको अर्थतन्त्रको वृद्धिमा ३० प्रतिशत बितेको सात वर्षमा योगदान गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot