Logo

ऋणमा फसेको श्रीलंकाको आग्रह चीनद्वारा अस्वीकार



एजेन्सी, १० चैत्र । यतिबेला श्रीलंका आर्थिक संकटमा छ । विदेशी ऋणको भारले देशको ढुकुटी नै रित्तिन लागेको छ । उपभोग्य सामाग्रीको समेत आपूर्ति गर्न सकेको छैन । जसका कारण त्यहाँ इन्धनको संकट बढेको छ ।

चीनको ऋणको कारण पनि समस्यामा परेको श्रीलंकाले उक्त ऋणमा सहुलियत दिन आग्रह गरेको छ । कोरोनाको महामारीलाई दृष्टिगत गरी ऋणमा पुनरावलोकन र पुनः निर्धारण गर्न भनेको थियो । श्रीलकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले उक्त आग्रह गरेपनि चीनले अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ इसँगको भेटमा श्रीलंकाली राष्ट्रपति राजापाक्षेले वैदेशिक मुद्राको संकटमा परेकाले सहयोगको आग्रह गरेका थिए । ऋणमा सहुलित दिन भनेपनि चिनियाँ विदेशमन्त्री वाङ ईले कुटनीति जवाफ दिएर अस्वीकृत जनाएको हङकङ पोष्टले लेखेको छ ।

श्रीलंकाको घटनाले म्यानमार, मलेशिया र नेपालले समेत चिनियाँ लगानीका आयोजनाहरु अगाडि नबढाउन खोजेको हङकङ पोष्टले लेखेको छ । श्रीलंकामा मात्र चीनको ८ अर्ब डलर ऋण छ ।

डिसेम्बर २०२१ मा श्रीलंकाका राष्ट्रपति राजापाक्षेले चीनको ऋणमा सहुलियत दिन भनेका थिए । तर, चीनले त्यसमा स्वीकारोक्ति जनाएन । चीनका आयोजनाहरुले श्रीलंकामा झन् ऋणको भार बढाउँदै लगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot