Logo

चीनको सामना गर्न क्वाड राष्ट्रहरुको आक्रामक रणनीति, इन्डो प्यासिफिकमा थप ५० अर्ब डलर



एजेन्सी, ११ जेठ । चीनको बढ्दो उपस्थितिप्रति अमेरिका झस्किएकै थियो । उसले चीनको विश्वव्यापी बढ्दो उपस्थितिप्रति आक्रामक रणनीतिहरु अगाडि सारिरहेको छ । चीनले एशियामा मात्र आफूलाई सिमित नबनाई अफ्रिका, दक्षिण अमेरिका, पूर्वी यूरोपलगायतका देशहरुमा बीआरआईलगायत भिन्न रणनीतिका साथ प्रभाव बनायो ।

आर्थिक रुपमा तिव्र विकास गरिरहेको चीनको यो चालप्रति अमेरिकाले क्षेत्रीय रणनीतिक योजनाहरु अगाडि सार्यो । जसमध्ये इन्डो प्यासिफिक रणनीति पनि एक हो । अमेरिकाले भारत, जापान र अष्ट्रेलियासहितको देशहरुलाई समेटेर क्वाड सक्रिय बनायो । क्वाड चीनको इन्डोप्यासिफिक क्षेत्रमा बढ्दो उपस्थितिको सामना गर्ने उद्देश्यले नै सक्रिय रहन थालेको छ ।

क्वाडका नेताहरुको सम्मेलन हिजोमात्र जापानमा सम्पन्न भयो । क्वाडका सदस्य राष्ट्रहरुले प्रजातान्त्रिक शक्तिहरुको एकता, सक्रियता र शक्ति वृद्धिमा जोड दिएका छन् । उनीहरुले पूर्वाधार निर्माणमा लगानी वृद्धिको सहमति पनि गरेका छन् । इन्डो प्यासिफिक क्षेत्रमा लगानी वृद्धिमा क्वाडले गरेको नयाँ निर्णय चीनले बढाइरहेको पूर्वाधार विकासमा लगानी वृद्धिको सामना गर्ने उद्देश्यले देखिन्छ ।

हुनपनि क्वाडको सम्मेलनलाई चीनले गम्भीरताका साथ लिएको छ । चीनले श्रीलंका, मालदिभ्सलगायत देशहरुमा ऋण लगानी गरी पूर्वाधार निर्माण गर्यो । बीआरआई परियोजनालाई आक्रामक रुपमा अगाडि सार्यो । जसका कारण इन्डो प्यासिफिक क्षेत्रका देशहरु चीनसँग बढी निकट हुनथाले । यसको सामना गर्न अमेरिकाले पनि पूर्वाधार विकासमा लगानी वृद्धि गर्न भारत, जापान र अष्ट्रेलिया जस्ता देशहरुलाई समेटेर बढ्न थालेको छ ।
क्वाडका देशहरुका नेताको बैठकपछि उनीहरुले पाँच वर्षभित्र इन्डो प्यासिफिक क्षेत्रमा थप ५० अर्ब डलर बराबरको पूर्वाधार विकास र लगानी गर्ने वक्तव्यमै उल्लेख गरेका छन् । उनीहरुले कोभिड १९ को महामारीपछि ऋणको विषयको सम्बोधनमा समेत जोड दिएका छन् ।

भारतका विदेशमन्त्री विनयमोहन क्वात्राले क्वाड देशहरुले अब आउनसँग चुनौती र सामनाको उपायबारे छलफल गरेको बताएका छन् । नाम उल्लेख नगरी क्वाडले चीनको बढ्दो चुनौतीको सामना गर्ने गरी रणनीतिहरु बनाएको छ ।

यसैगरी, क्वाडको बैठक चलिरहँदा रुस र चीनका युद्धक विमानहरुले जापानको समुन्द्रमा युद्धअभ्यास गरे । क्वाडमा अमेरिकासहितका प्रजातान्त्रिक देशहरु आवद्ध हुनु र विपरित ध्रुवको चीनले चासो दिनु अर्थपूर्ण छ ।

अमेरिकाको आक्रमक रणनीतिपछि दक्षिण एशियामा केही सत्ता पलटहरु समेत भएका छन् । विगतमा चीननिकट मानिएका सत्ताहरु ढलेर अमेरिकानिकटहरु सत्तामा आएका छन् । यसले पनि अमेरिकाको इन्डो प्यासिफिक क्षेत्रमा आक्रामक रणनीति खुलेको छ । अब उसले यस क्षेत्रमा पूर्वाधार विकासमा लगानी वृद्धिको रणनीति समेत चालेको देखिदैछ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot