Logo

बाढीपहिरोबाट मंगलबार छ जना र जेठ यता ३५ जनाको मृत्यु



काठमाडौं, साउन १८। अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् ।

आइतबारदेखिको वर्षामा सबैभन्दा ठूलो मानवीय क्षति म्याग्दीमा भएको छ । सोमबार राति गएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–२, रुममा दुईवटा घर पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको वाणगङ्गा नदीले तीन जनालाई बगाउँदा वाणगङ्गा नगरपालिका–९, झिनुवा निवासी राममाया सुनारको मृत्यु भएको छ । उनका श्रीमान् दिलकुमार सुनारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । छोरालाई भने सकुशल उद्धार गरिएको छ ।

कास्की प्रहरीका अनुसार रूपा गाउँपालिका–१, गैरीमा सडक भासिँदा पोखरा–लमजुङको भोर्लेटार जोड्ने पक्की सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

हालसम्म ३५ जनाको मृत्यु

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार गत जेठ तेस्रो सातादेखि वर्षाका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा तीन जना बेपत्ता रहेको र ३९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । हालसम्म बाढीपहिरोबाट ८२ घर पूर्ण क्षति र ६४ वटा घरमा आंशिक क्षति पुगेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot