Logo

४ सिटबाट कसरी बहुमतमा पुगे कम्युनिष्ट पार्टी, अब के होला



काठमाडौं, १ भाद्र । कुनै समय थियो नेपालमा कम्युनिस्ट पार्टी निकै कमजोर थियो । कम्युनिस्टहरु फाट्टफुट्ट भेटिन्थे । २००७ सालको क्रान्तिपछि देशमा नेपाली काँग्रेस, गोर्खा परिषद, प्रजा परिषद जस्ता दल नै हावी भए । कम्युनिस्टहरु विस्तारै फष्टाइरहे ।

२०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा नेपाली काँग्रेसले ७४ सिट जित्दा गोर्खा परिषदले १९ सिट जित्यो, संयुक्त प्रजातन्त्र पार्टीले ५ सिट जित्दा नेपाल कम्युनिस्ट पाटीले ४ सिट जित्यो । २०१७ मा तत्कालीन राजा महेन्द्रले सत्ता हातमा लिएपछि ३० वर्ष पञ्चायती शासन चल्यो । त्यस अवधिमा कम्युनिस्ट पार्टी विस्तारै फैलियो ।

२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था आयो । २०४८ को आमनिर्वाचनमा नेपाली काँग्रेसले ११० सिट जित्दा कम्युनिस्ट पार्टीहरुले अलग अलग चुनाव लडेर ८२ सिट जिते । एमाले एक्लैले ६९ र जनमोर्चा एक्लैले ९, नेकपा प्रजातान्त्रिकले २, नेमकिपाले २ सिट जितेका थिए ।
२०५१ को मध्यावधि निर्वाचनमा एमाले एक्लैले ८३ सिट जितेर संसदमा पहिलो दल बन्यो । उसैलै अल्पमतको सरकार बनायो । जनमोर्चा सुन्य सिटमा झर्यो । नेमकिपाले ४ सिट जित्यो । कुल मिलाएर कम्युनिस्ट पार्टीले ८७ सिट जिते । २०५२ सालमा पूर्व जनमोर्चा र एकता केन्द्रका धेरै नेताहरु मिलेर माओवादी सशस्त्र गतिविधिमा संलग्न भए ।

२०५६ को आमनिर्वाचनमा कम्युनिस्ट पार्टीले ७८ सिट जिते । एमाले एक्लैले ७१, राष्ट्रिय जनमोर्चाले ५, संयुक्त जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेका थिए ।

माओवादी शान्ति प्रक्रियामा गएपछि भएको पहिलो संविधानसभा चुनावमा ६०१ सिटमध्ये माओवादीले २२९ सिट जित्यो । एमालेले १०८, नेकपा मालेले ९, जनमोर्चा नेपालले ८, नेकपा संयुक्तले ५, राष्ट्रिय जनमोर्चाले ४, नेमकिपाले ५ सिट जिते । कम्युनिस्ट पार्टीहरुले कुल मिलाएर बहुमत जिते । कुनैबेला ४ सिट मात्र जितेका कम्युनिस्ट शक्तिले २०६५ मा पुग्दा बहुमत सिट जित्न सके ।

२०७० को दोस्रा्े संविधान सभा चुनावमा कम्युनिस्टहरुको सिट घट्यो । ६०१ सिटमा एमाले १७५, माओवादी ८०, नेकपा माले ५, नेकपा संयुक्त ३, राष्ट्रिय जनमोर्चा ३, नेमकिपा ४ सिट जित्न सफल भए । कम्युनिस्टहरुले बहुमत गुमाए ।

२०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडे । राष्ट्रिय जनमोर्चा पनि वामपन्थी गठबन्धनमा गयो । कुल २७५ सिटमध्ये कम्युनिस्टहरु बहुमत हासिल गर्न सफल भए । एमालेले १२१, माओवादीले ५२, नेमिकिपाले १ र राजमोले १ सिट जिते । एमाले र माओवादी मिलेर भारी बहुमतको सरकार बनाए । यसरी कम्युनिस्ट पार्टीहरु झण्डै दुई तिहाई ल्याउन बलियो सरकार बनाउन सफल भए ।

कुनैबेला ४ सिट ल्याएका कम्युनिस्टहरु ५९ सालपछि भारी बहुमत ल्याउन सफल भए । नेपालको इतिहासमा यसलाई कतिपयले न विगतमा हुने न त भविष्यमा हुने घटनाका रुपमा लिए । २०७९ सालको चुनाव घोषणा हुँदा भने कम्युनिस्ट पार्टीहरु विभाजित भएका छन् । एमाले र माओवादी यसअघि तालमेल गरी चुनाव लडेको र पछि एक समेत भएकोमा फुटेका छन् । यसको असर चुनावमा देखिनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot