Logo

चुनावको मुखमा चलचित्रकर्मी र कलाकारद्वारा आन्दोलनमा जाने चेतावनी



काठमाडौं, १७ असोज । चलचित्रकर्मीहरुले नेपाली चलचित्र बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्रहरु भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरु भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताए । तिहारलगत्तै आफूहरु आन्दोलनमा जाने भन्दै तत्काल नीतिनियम परिवर्तन गरेर नेपाली चलचित्रको प्रवद्र्धन गर्न भने । उनले भने, ‘नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि तत्काल काम होस् अन्यथा निर्माता संघ चाँडबाँडलगत्तै आन्दोलनमा जान्छ ।’

नेपाली भाषा, संस्कृति र चलचित्रमाथि षड्यन्त्र हुँदा पनि केही गर्न नसकेको विश्लेषण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको राजीनामा माग गरे । उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीले राजीनामा दिनुपर्छ ।’ चलचित्र विकास बोर्ड विदेशी चलचित्र चलाएर स्वदेशी फिल्म प्रवद्र्धन गर्छु भन्दै हिडेको उल्लेख गर्दै त्यसमा परिवर्तन नभए बोर्ड खारेजीको माग गरे ।

विदेशी चलचित्रका लागि कोटा प्रणाली ल्याउनुपर्ने र महिनामा एउटा मात्र चल्न दिनुपर्ने खड्काको भनाई थियो । बाबरी चलचित्रलाई चल्न नदिन शोहरु नदिने र रोकावट गर्ने गतिविधि भइरहेको बताए । उनले भने, ‘यति राम्रो चलचित्रमाथि किन अपमान ?’ नेपाली चलचित्रमाथि अवरोध गर्नेहरुको नागरिकता समेत छानविनको माग गरे ।

निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताए । उनले भने, ‘यो घरी घरी आएको कुरालाई जरासहित उखेल्नुपर्छ ।’ सरकारले नेपाली चलचित्र नबनाउन भन्नुपर्ने या वातावरण बनाउनुपर्ने बताए । नेपाली चलचित्रका लागि सरकारले फरक नियम बनाएर जानुपर्नेमा जोड दिए । नेपालमा नेपाली भाषा र समाजसँग जोडिएको चलचित्रलाई निरुत्साहित गर्ने गतिविधिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकोमा आपत्ती जनाए । उनले भने, बाबरीलाई माया गरेजस्तै शो पनि पाउनुपर्छ । उनले नेपाली चलचित्र संख्या र गुण दुवैमा विकास भइरहेकोमा राज्यबाट प्रोत्साहन हुनुपर्ने बताए । दशैंको बेलामा चलचित्र बाबरीमा आकर्षण बढिरहँदा शो घटाइदिएकोमा आफूहरु गम्भीर भएको बताए ।

बाबरी चलचित्रकी नायिका अदिती बुढाथोकीले नेपाली चलचित्रहरुको विकास गर्ने परिवेश निर्माण भएमा मात्र नेपालको हित हुने बताए । उनले समस्याहरु आइरहने र समाधान गर्दै जानुपर्नेमा जोड दिदै नेपाली चलचित्रको राम्रो भविष्य भएको बताइन् । चलचित्र क्षेत्रमा नयाँ पीढीहरुले मौका पाउँदै गएकोमा झन् आशा गर्ने ठाउँ रहेको बताइन् । आफूले बाबरी चलचित्रका लागि शोहरु अझ प्राप्त भई दर्शकको माया पाइने आशा व्यक्त गरे ।

चलचित्र निर्माता समेत भइसकेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपाली चलचित्रमाथि आएको संकट आफ्नो पनि संकट भएको बताए । उनले नेपाली चलचित्रकर्मीलाई नेताहरुले चुनाव र राजनीतिक आन्दोलनमा मात्र प्रयो गर्ने गरेको आरोप लगाए । उनले भने, ‘तपाईंहरुलाई चुनाव अगाडि प्रयोग गर्छन् र पछि बेवास्ता गर्छन् । अब जस्ले तपाईंहरुको एजेन्डालाई सम्बोधन गर्छ उसैलाई मात्र साथ दिनुहोस् ।’

निर्माता पुष्पा बुढाथोकीले चलचित्रलाई दर्शकले माया गर्दा गर्दै मारमा परेको बताइन् । सरकारले नेपाली चलचित्र चल्ने गरी सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामी सरकारको सहयोगी हौं सरकारले पनि सहयोग गरोस् ।’ राम्रो मनले चलचित्र बनाउँदा बनाउँदै समस्या आएकोमा गम्भीर भएको बताइन् । बाबरी चलचित्र काठमाडौं बाहिर राम्रो चलिरहेकोले टीका पछाडि झन् चल्ने आशा व्यक्त गरिन् । आफूले फेरि फेरि चलचित्र बनाउने उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot