Logo

नवौँ राष्ट्रिय खेलकुदः टेनिसमा गण्डकीलाई स्वर्ण



काठमाडौँ,२ कार्तिक । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जिते ।

गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी छन् भने सेनाका खनाल द्धितीय वरियतामा छन् । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले नतिजा आफ्नो पक्षमा ल्यायो । यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ ।

सफ्ट टेनिसमा प्रदेश नं १ लाई स्वर्ण

सफ्टटेनिसतर्फ ‘मिक्स डबल्स’को आज सम्पन्न भएको फाइनल खेलमा प्रदेश नं १ ले स्वर्ण पदक जितेको छ । पोखरा रङगशालास्थित टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जियाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।

प्रतियोगितामा बागमतीले रजत पदकमा चित्त बुझाउनु प¥यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपिएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे । सफ्ट टेनिस डबल्सतर्फको मङ्गलबार भएको खेलमा विभागीय टोली नेपाल प्रहरी र एपिएफले एक–एक स्वर्ण जितेका थिए । पुरुषतर्फ पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडी र महिलातर्फ एपिएफका भगवती विक र समृद्धि महर्जनको जोडीले स्वर्ण जितेको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot