Logo

डेम्बेले चम्किदा बार्सिलोनाको शानदार जीत



एजेन्सी । फ्रान्सेली विंगर ओसुमाने डेम्बेलेले एक गोल गर्दै तीन एसिस्ट दिएपछि स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोलले पराजीत गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक दुरी छोट्याएको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन रोबर्ट लेवान्डोस्की, ओसुमाने डेम्बेले, सेर्जी रोबर्टो र फेरान टोरेसले समान एक-एक गोल गरे । खेलको १२ औं मिनेटमा लेवान्डोस्कीको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा डेम्बेलेको पासमा रोबर्टोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २२ औं मिनेटमा डेम्बेलेको पासमा लेवान्डोस्कीले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३-० गोलको अग्रता लिएको थियो । यस्तै ७३ औं मिनेटमा डेम्बेलेकै पासमा टोरेसले गोल गरेपछि बार्सिलोना ४-० गोलले विजयी भएको हो ।

जीतसँगै बार्सिलोना ११ खेलबाट २८ अंकको साथ लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट १८ अंक जोडेको एथ्लेटिक छैटौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्