Logo

सुदूरपश्चिम प्रदेश सरकार बनाउन जुनसुकै दलसँग सहकार्य गर्न खुल्ला छौं– कमलबहादुर शाह



काठमाडौं, २० पुष । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकार बनाउन जुनसुकै दलसँग सहकार्यका लागि आफूहरु तयार रहेको बाताएका छन् ।

बुधबार प्रदेश संसदीय दलको नेतामा चयन भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै उनले प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले आफूहरु जुनसुकै दलको सहकार्यमा सरकार बनाउन तयार रहेको बताएका हुन् ।

‘सबै दलसँग सहकार्य गर्न खुला छौँ । ‘सहमति, सहकार्य गरेर अगाडि बढ्ने हो,’ उनले भने । आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउनका लागि माओवादीसँग पनि संवाद भइरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस १९ सांसदसहित सबैभन्दा ठूलो दलका रुपमा रहेको छ । प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वानसमेत गरिसकेका छन् ।

केन्द्रमा कांग्रेस सबैभन्दा ठूलो दल भएपनि एमालेको समर्थनमा माओवादीको नेतृत्वमा सरकार बनेको छ । त्यसैगरी सातै प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने दलका शीर्ष नेताहरुले बताइरहेका छन् । यस आधारमा सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन हुने सम्भावना न्यून छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot