Logo

अहिलेको सरकार रिमोट कन्ट्रोल केपी ओलीको, फेस प्रचण्डको– उदय शमशेर (भिडियोसहित)



काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ठूलो दलको हैसियतमा सुरुको साढे दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्छ भन्दा प्रचण्ड गठबन्धन तोड्न तयार भएको बताएका हुन् ।

कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिए पनि सहकार्यको ढोका सधैं खुल्ला रहने उनले बताए । अर्थतन्त्र सुधारका लागि कांग्रेस विपक्षमा बस्दै गर्दा प्रोडक्टिभ भूमिका रहने उनको दाबी छ । कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा बस्न उचित हुने र संसदीय दलको बैठकमा आफ्नो धारणा पनि त्यही रहने बताउँदै उनले भने– ‘हामी पार्टीको निर्णय मान्छौं । शेरबहादुर देउवा एक्लैले पनि सबै निर्णय गर्ने होइन । हामीले आफ्नो धारणा राख्छौं । सबैको आ–आफ्नो धारणा मात्रै लागू गरेभने पार्टी पार्टी हुँदैन । छलफल गर्ने हो, नेतृत्वले निर्णय गरिसकेपछि स्वीकार्नु पर्छ ।’

साथै, अहिलेको सरकारको पावर बालकोट तिर भएको भन्दै उनले प्रचण्ड नेतृत्वको सरकारलाई संवैधानिक प्रधानमन्त्रीको संज्ञा दिए । प्रचण्ड नेतृत्वको सरकार केपी ओलीको रिमोट कन्ट्रोलमा रहेको उनको आरोप छ । यस्तो सरकार धेरै लामो समयसम्म कायम रहन नसक्ने पनि उनले बताए । ‘अहिलेको सरकार केपी ओलीको इसारामा, रिमोर्ट कन्ट्रोल केपी ओलीको फेस चाहिँ प्रचण्डको । त्यसैले यस्तो सरकार टिक्न गाह्रो होला जस्तो मलाई लाग्छ,’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot