Logo

राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशको पहिलो सांस्कृतिक सम्मिलिन रामेछापमा (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशको आयोजनामा रामेछापमा पहिलो सांस्कृतिक सम्मिलिन हुने भएको छ । महासंघले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

आगामी चैत्र १२, १३ र १४ गते कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ । कार्यक्रममा संगीत, चित्रकला, भाषा सहित्य, लोककला, ललितकला र सांस्कृतिक क्षेत्रभित्र पर्ने विभिन्न क्षेत्रका विषय विज्ञहरुकोसमेत सहभागिता रहने बताइएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशका सचिव डा. रमेश सुभेक्षुले बागमती क्षेत्रभित्रका गीत संगीत कला र लोकसाहित्य लगायतका सांस्कृतिक विधा र कलाको अन्वेन्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

‘बागमती सांस्कृतिक सम्मेलन बागमती क्षेत्रभित्रका गीत संगीत कला र लोकसाहित्यसमेत समग्र कलाहरुलाई अन्वेशन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दैछौं । यो पहिलो सम्मेलन हामीले रामेछापमा गर्दैछौं । हामी त्यहाँका स्थानीय झाँकीहरु पनि प्रस्तुत गर्नेछौं । त्यहाँका स्थानीय कला, संस्कृतिको पनि हामी अवलोकन गर्नेछौं । त्यसबाट यो प्रदेशको कला सस्कृति कस्तो छ भन्ने कुरा उजागार हुनेछ,’–उनले भने ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशका इन्चार्ज माधव प्रधानले प्रजातन्त्रका लागि लडेका वीर सहिदहरुको जिल्लामा आफूहरुले पहिलो सम्मेलन गर्न लागेको बताए । ‘रामेछाप गंगालाल र पुष्पलालको स्थान हो । त्यहाँ उपस्थित हुनुहुने र सम्मेलनमा सहभागी हुनुहुनेहरुले अन्धकारको युगलाई उज्यालो प्रजातन्त्र दिने तिनै वीर सहिदहरुको घरमा पनि हामी पुर्याउने छौं । त्यस्तो आगनमा हामी यो कार्यक्रम संयोजन गर्न लागिरहेका छौं,’– उनले भने ।

कार्यक्रमका अतिथि खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार क्षेष्ठले पुष्पलालको भूमिमा संस्कृतिक सम्मेलन हुनु आफैंमा खुसीको कुरा भएको बताए । रामेछाप जिल्ला विकट भएपनि कला, संस्कृति र प्रकृतिको धनी भएको उनले बताए । यस कार्यक्रमले रामेछापको कला र संस्कृतिलाई जोड्न अहम भूमिका खेल्ने उनको भनाई छ ।

‘हाम्रा ऐतिहासिक भूमिहरु, पुरातात्विक भूमिहरु र सांस्कृतिक भूमिहरु र पर्यटकीय स्थलहरुलाई लाई चिनाउने महत्वपूर्ण अवसर हामीले पाएका छौं । हामी सबै पालिकाहरु मिलेर तपाईँहरुलाई स्वागत गर्नेछौं । हाम्रो रामेछाप पुष्पलालको नामले मात्रै नचिनिएर आजको युगमा हामीले निर्माण गरेका जेजती चिजहरु छन्, ती चिजहरुसहित प्रस्तुत गरेर रामेछाप पनि एउटा महत्वपूर्ण गन्तव्य स्थल हो भनेर चिनाउने कुरामा यो अभियानले महत्वपूर्ण योगदान दिनेछ,’– उनले भने ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष आरसी न्यौपाने यहाँका सांस्कृतिलाई पुनर्जागरण गर्न लागेको बताए । यहाँ मुर्झाउँदै गएका संस्कृतिलाई जगाउने अभियान रामेछापबाट सुरुवात गर्न लागेको उनले बताए ।

‘नेपालमा बाह्य संस्कृतिको प्रभाव र प्रभुत्व बढ्दै गएको छ । त्यसलाई निश्तिेज गरेर विभिन्न जातजातिका परम्परा, इतिहास र संस्कृतिलाई गर्वका साथ अगाडि ल्याउनका लागि यो बागमती सांस्कृतिक सम्मेलनले आधारको भूमिका निर्वाह गर्नेछ । यहाँका असल परम्पराहरुको जागरण गर्नेछ,’– उनले भने ।

उक्त सम्मेलनमा कलाकार, राजनीतिककर्मी, भाषाविद्, संस्कृतिकविद्, नागरिक समाज र सबैको सहभागिता रहने उनले बताए । साथै, कार्यक्रमबाट बागमती घोषणापत्रसमेत जारी गरिने उनले बताए ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमको दस्तावेजीकरण हुने बताए । रामेछापका विभिन्न स्थानमा पुगेर फरक खाल्का संस्कृति र साहित्यको अवलोकन गरिनेसमेत उनले बताए । बागमती प्रदेशका अवधारणाअनुसार अरु प्रदेशसले पनि अनुसरण गर्नुपर्ने उनले बताए ।

महासंघले उक्त तीन दिने कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरकोसमेत व्यवस्था गरेको छ । स्वास्थ्य शिविरमा चिरायु नेस्नल हस्पिटलको सहकार्य रहेकोछ ।

चिरायु नेस्नल हस्पिटलका डाइरेक्टर सञ्जिवराज भण्डारीले महासंघसँगको सहकार्यमा रामेछाप जान पाउँदा आफूहरुले गौरव अनुभव गरेको बताए । महासंघको समन्वयमा रामेछापको मन्थलीमा १३ गते निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको उनले बताए । साथै चिरायु हस्पिटल रामेछापवासीलाई सहुलियतमा सेवा दिन तत्पर रहेकोसमेत उनले बताए ।

गायक कल्याण रत्न कार्की, नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीका सचिव पुरुषोत्तम कडेल, रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम अमृत खातीले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्