Logo

गल्ती सत्ता गठबन्धनले गर्यो, उपनिर्वाचनमा सजाय चाहीँ हामीले पायौं– एमाले नेता आचार्य



काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यले एमालेको कार्यशैली र एजेण्डाहरु सुधार गर्ने बेला आएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै आचार्यले उपनिर्वाचनको नतिजाले एमालेको कार्यशैली र एजेण्डा सुधार्न पर्ने सन्देश दिएको बताएका हुन् । ‘ती निर्वाचन क्षेत्र एमालेका मकजोर क्षेत्रहरु हुन् । दोस्रो कुरा विभिन्न कारणले हाम्रो त्यहाँ उपस्थिति कमजोर भयो । समग्रमा हामीले हाम्रा कार्यशैलीहरु र एजेण्डा सुधार्न पर्छ,’– उनले भने ।

जनताले अहिले पार्टीसँगै उम्मेदवारको क्षमतालाई पनि निर्वाचनमा हेर्न थालेको उनको दाबी छ । निर्वाचनमा एमालेले कस्तो उम्मेदवार उठायो भन्ने कुरामा पनि समीक्षा गर्ने बेला आएको उनको दाबी छ । अहिलेका जनता सचेत भइसकेकाले पार्टीले टिकट दिएको भरमा जनताले भोट नहाल्ने उनको दाबी छ । ‘अहिले मान्छेले पार्टी र उम्मेदवार पनि संगसँगै हेर्ने चलन छ । हामीले उम्मेदवार कस्तो उठायौं भनेर पनि समीक्षा गर्नुपर्ने बेला भएको छ । अहिले मान्छेको चेतनास्तर धेरै अगाडि बढिसक्यो । जनताले पार्टीले टिकट दियो भनेकै भरमा अहिले भोट हाल्दैनन्, मान्छे पनि हेर्छन् । हामीले त्यो पनि समीक्षा गर्न जरुरी छ,’– उनले भने ।

जनताले राजनीतिक स्थिरता चाहेपनि ठूला दलले त्यसलाई स्थायित्व दिन नसक्दा उपनिर्वाचनमा अहिलेको परिणाम आएको उनको दाबी छ । अहिलेको गठबन्धन सरकारले गरेको गल्तीसमेत एमालेले उपनिर्वाचनमा भोग्नु परेको उनको भनाई छ । ‘मान्छेले राजनीतिक स्थिरता चाहेका थिए, त्यो हामीले दिन सकेनौं । यही चुनावपछि पनि केही नयाँ हुन्छ कि भन्ने मान्छेले खोजे । तर, असाध्यै बढि अस्थिरता सुरुमै झल्कियो । एउटा गठबन्धनमा एउटा सरकार बन्यो । तुरुन्तै भत्किएर अर्को गठबन्धन बन्यो । पाँच महिन भइसक्यो सरकार अझै पूर्ण भएको छैन । मान्छेले त एमाले र कांग्रेस भनेर हेर्दैन नि । गठबन्धनले गरेको गल्तीको सजाय पनि एमालेले पाउने भयो । मूलधारका भन्ने नाममा प्रचण्डले गल्ती गरेभने एमालेलाईसमेत मान्छेले दोष्छन्,’– उनले भने ।

जनताको मुख्य एजेण्डा नै राजनीतिक स्थिरता, सुशासन र रोजगारी भएको उनले बताए । सरकारमा रहँदा एमालेले धेरै काम गरेपनि जनताको भावना अनुसार काम गर्न नसकेको उनको दाबी छ । नेताहरुमा व्यवस्थित कार्यशैली र योजना नै नभएको उनले बताए । प्राथमिकताको साथ जनताले खोजेको डेलिभरी सरकारले दिन नसकेको उनेको भनाई छ । आफूहरु अब सुध्रिनु र कार्यशैली परिवर्तन गर्नुको विकल्प नभएको उनले बताए । कार्यशैली परिवर्तन नभएमा आफूहरु सकिने उनको भनाई छ । निर्वाचित भएर आएको दलले दलले पनि जनताको पक्षमा काम गर्छन् भन्नेमा आफू विश्वस्त नरहेको उनको भनाई छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot