Logo

कोही व्यक्तिका निम्ति सिंगो पार्टीलाई बदनाम गर्न मिल्दैन : प्रदीप पौडेल



काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न नहुने बताएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिले पार्टीबाट राजीनामा गर्दा उपयुक्त हुन्थ्यो । त्यसो नभइसकेपछि हामीले पार्टीले नै निलम्बन गरेर अघि बढ्दा छानबिनलाई सहयोग पुग्छ भनेका हौं । अहिले कोही व्यक्ति दोषी करार नभए पनि छानबिन भइरहेको स्थिति हो । पार्टीभन्दा व्यक्ति ठूलो होइन । कोही व्यक्तिका निम्ति सिंगै पार्टीलाई बदनाम गर्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता पौडेलले पार्टी विधिको शासन र सुशासनको पक्षमा खरो ढंगले उत्रनुपर्ने औंल्याए । उनले थपे, ‘विधिको शासन र सुशासन पार्टीको घोषित प्राथमिकता हो । यो सामाजिक मुद्दा पनि हो । यो त्यत्तिकै सामसुम भयो भने आम रुपमा निराशा बढ्छ । मुलुकमा सुशासन स्थापित हुन सक्दैन । प्रहरी प्रशासनको अनुसन्धानमा सरकार र दलहरुको प्रतिबद्धता आवश्यक हुन्छ । यो कति खोतलिन्छ, कहाँसम्म जान्छ भन्ने अहिले थाहा हुने कुरा भएन ।’
अहिले मुलुकमा राज्यसंयन्त्रप्रति नै अविश्वास बढेको पनि पौडेलले बताए । उनले भने, ‘यो क्षम्य घटना होइन । अनजानमा भएको पनि होइन । त्यसैले प्रमाणले पुष्टि गर्ने अवस्थामा जुनसुकै व्यक्तिलाई भ्रष्टाचारमा छाड्नु हुँदैन । यो कसैले चाहेर वा नचाहेर यत्तिकै टुंगिने विषय होइन । संसदमा पनि हामीले दबाब दिइरहेको स्थिति छ ।’
नीति र कार्यक्रमलाई कार्यान्वयन पक्षसँग जोड्नुपर्नेमा उनको जोड छ । पौडेलले भने, ‘हाम्रो नीति तथा कार्यक्रम पनि परम्परागत छ, विपक्षीको विरोध पनि परम्परागत छ । नीति र कार्यक्रम त कहिले नराम्रो थियो र ? माइकबाट सुन्दा कर्णप्रिय नै लाग्छ । कार्यान्वयन फितलो भएपछि जति राम्रो ल्याए पनि अर्थ छैन । विपक्षीले पनि जहिल्यै प्रोपगान्डा हो, कर्मकाण्डी छ भन्ने । लेखिएका ५० प्रतिशत कार्यान्वयन भए पनि ठूलो कुरा हुन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्