Logo

हिसानका सचिव तिवारी भन्छन्, ‘नेपालमा क्वालिटी एजुकेसन छैन भन्नु बजारको हल्लामात्रै हो’



काठमाडौं, २ साउन । उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ का सचिव डा. ऋषि तिवारीले शिक्षा नीति नआउँदा नेपालको शिक्षा क्षेत्र अस्तव्यवस्त भएको टिप्पणी गरेका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीय शिक्षा ऐन नआउँदा र देशको आवश्यकता अनुसार शिक्षा नीति नहुँदा धेरै विद्यार्थी विदेश पढ्न जाने गरेको बताए । अध्ययनको लागि धेरै विद्यार्थी विदेश जाँदा नेपालको ठूलो धनराशी पनि खर्च भइरहेको उनले बताए ।

‘शिक्षा क्षेत्र अस्तव्यस्त हुनुमा धेरै कुराहरु छन्, पहिलो चाहिँ शिक्षा नीति नै हो । शिक्षा नीति राम्रो भएपछि सबै कुरा ठीक हुन्छ । संघीय शिक्षा ऐन भन्ने कुरामात्रै गरिन्छ, आएको छैन, अब संघीय शिक्षा ऐन आउँदा खेरी पनि सरोकारवालाहरुसँग छलफल गर्नपर्छ । हाम्रो शिक्षा नीति कस्तो बनाउने भन्ने त देशको आवश्यकता अनुसार हो । अहिले धेरैभन्दा धेरै विद्यार्थी बाहिर गइरहेका छन् । देशको ठूलो धनराशी बाहिर गइरहेको छ,’– उनले भने ।

नेपालमा एजुकेसनको क्वालिटी छैन भन्नु केवल बजारको हल्लामात्रै भएको उनको दाबी छ । नेपालमा पढेका विद्यार्थी विदेश गएर नासाको इन्जिनियरको काम गरिरहेको बताउँदै उनले नेपालको शिक्षमा गुणस्तर रहेको बताए । विकास नभई समृद्धि नहुने र विकास गर्नका लागि शिक्षा अनिवार्य भएको उनको भनाई छ ।

‘एजुकेशनको क्वालिटी राम्रो छ नेपालमा । नेपालमा पढेका विद्यार्थी बाहिर गएर नासामा काम गर्न सक्छन् । नासाको इन्जिनियर बन्न सक्छन् । मेडिकल एजुकेसनमा हेर्नुभयो भने नेपालमा पढेका विद्यार्थीहरु धेरै काउन्सिलमा पास भएका छन् । ईन्जिनियरिङमा हेर्नुभयो भनेपनि बाहिर पढेर आएका विद्यार्थीभन्दा यहाँका धेरै विद्यार्थी पास भएका छन् । किन क्वालिर्टी एजुकेसन छैन ? यो त बजारको हल्लामात्रै हो । क्वालिटी एजुकेसन छ नेपालमा,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्