Logo

चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती



रोल्पा, १२ साउन । रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ । विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना चिकित्सक मात्रै कार्यरत रहँदा सेवा प्रभावित भएको हो ।

सङ्घ र प्रदेश सरकार दुर्गमका नागरिकप्रति उत्तरदायी नहुँदा यहाँका स्थानीय स्वास्थ्य सेवावाट वञ्चित भएका छन् । हाल एकजना चिकित्सकले दैनिक एक सय बढी बिरामीको उपचार गर्नुपरेको चिकित्सक रणबहादुर बोगटीले बताए । उनका अनुसार दैनिक एक सय ५० बढी बिरामी उपचारका लागि आउने गरेकाले केही वर्षअघिदेखि सुरु गरिएको जटिल प्रसूति शल्यक्रिया सेवा अवरुद्ध भएको छ ।

चिकित्सक बोगटीले शल्यक्रिया गर्न जनशक्ति अभावका साथै सहयोगी एनेस्थेटिक चिकित्सक नहुँदा सेवा प्रभावित भएको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालले सेवा दिन नसकेपछि उनीहरु ठूलो धनराशि खर्चिएर जिल्लाबाहिर जान बाध्य भएका उनको भनाइ थियो । चिकित्सक बोगटीले पाँच वर्ष अस्पतालमा करार सेवामा कार्यरत चिकित्सक प्रकाश बुढाको करार अवधि सकिएपछि जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया सेवा अवरुद्ध भएको जानकारी दिए ।

उनका अनुसार एघारौँ तहको एक विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिलेसम्म आठौँ तहभन्दा माथिका चिकित्सक आएका छैनन् । “नवौँ र दशौँ तहका जनरल फिजिसियन, पेडियाटिसियन, अव्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेयिोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरी दश  कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकामा एकजना पनि कन्सल्टेन्ट चिकित्सक छैनन्”, उनले भने, “आठौँ तहका छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा हाल एकजनाले सेवा दिइरहेका छन् ।”

चिकित्सक लोकरत्ना ज्ञवाली निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत छिन् । ज्ञवाली एकमात्र स्थायी चिकित्सक हुन् । एमडिपिजी चिकित्सक रणबहादुर बोगटी साइमन नामक संस्थाको सहयोगमा करार सेवामा कार्यरत छन् । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक निरज घर्तीमगर पढाइ सकेर एक वर्ष दुर्गममा सेवा गर्न आएका हुन् ।

दैनिक कार्यालयको काममा व्यस्त रहनुपर्ने बाध्यताले अस्पतालमा दुईजना चिकित्सकले दैनिक एक सय ५०  बढी बिरामीको उपचार गरिरहेका कार्यालय प्रमुख ज्ञवालीले बताए । करार सेवामा कार्यरत आधा दर्जन बढी चिकित्सकको सेवा नवीकरण नगर्दा अस्पतालमा जनशक्ति अभाव भएको उनको भनाइ थियो ।

प्रमुख ज्ञवालीका अनुसार डा. आधार वली, चिकित्सक प्रकाश बुढा, डेन्टल सर्जन डा. पूजा कुँवर, चिकित्सक तिलक डाँगी र चिकित्सक रेश्मा घर्तीमगरले करार नवीकरण नहुँदा अस्पतालबाट बाहिरिएका हुन् । उनीहरुमध्ये अधिकांश दुर्गममा अनिवार्य सेवाका लागि खटिएका चिकित्सक हुन्  ।

चिकित्सक कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख ज्ञवालीले बताए । “सम्बन्धीत निकायमा जानकारी गराएका छौँ, सुनुवाइ हुने अपेक्षा गरेका छौँ”, उनले भने । जिल्लामा अर्थो, पाठेघर सङ्क्रमण, पाठेघर खस्ने, यौन रोग, मानसिक रोग, कलेजोको रोगका बिरामी बढी आउने गरेका उनले जानकारी दिए ।

जिल्ला अस्पताल लामो समयदेखि प्रमुखविहीन रहेको ज्ञवालीले बताए । “प्रदेश सरकारले प्रादेशिक अस्पताल बुटवलबाट हाडजोर्नी विशेषज्ञ डा. सोमबहादुर आलेलाई तीन महिनाका लागि काजमा यहाँ पठाए पनि उहाँ सरुवा भइसक्नु भएको छ”, उनले भने ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा यसरी चिकित्सकको अभाव हुनु सरकारको लाचारीपन भएको नागरिक समाजका अगुवा ओम केसीले बताए । “स्वास्थ्य जस्तो नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा राज्य गम्भीर नहुनु दुःखद हो”, उनले भने, “जिल्लाका जनप्रतिनिधि, राजनीतिक दललगायत सम्बन्द्ध निकायले अस्पतालमा चिकित्सक व्यवस्थापनमा ध्यान नदिनु लापर्बाही हो ।”रासस



प्रतिक्रिया दिनुहोस्