Logo

सरकारको आयुमा ग्रहदशा लागेको छैन, गठबन्धन एक ढिक्का छ : केशव झा



काठमाडौं, ९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता केशव झाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुमा ग्रह र दशा नलागेको स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकारको आयु कुरा गर्दा अहिले सरकारले राम्रै काम गरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सरकार एग्रेसिभ रूपमा अघि बढेको छ । सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ। यसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ । आशा जगाएको छ । जसरी अहिले सरकार कडाईका साथ अघि बढेको छ, गठबन्धन एक ढिक्का भएको छ। सरकार अलिकति पनि दायाँबायाँ हुँदैन् । कसैले शंका गर्ने ठाउँ छैन् । सरकारको आयुमा ग्रह र दशा लागेको स्थिति छैन । सरकार राम्रोसँग अघि बढ्छ ।’

नेता झाले सुन काण्ड र भ्रष्टाचारको सन्दर्भमा आफ्नो दल भ्रष्टाचार गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्ने पक्षमा दृढ रहेको बताए । उनले भने,‘हामी गठबन्धनमा पनि छौं । भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिनुहुँदैन् । भ्रष्टाचार किन हुन्छ ? भन्ने कुरा पनि गम्भीर विषय हो । अब भ्रष्टाचार नहुने वातावरण सिर्जना गर्नुपर्छ । सुन काण्डको सन्दर्भमा जसरी अहिले अपराधीलाई समात्ने काम भएको छ । अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कामको समर्थन गरेका छौं ।’

झाले लागुऔषध, मानव बेचबिचखन र हातहतियारको विषय जघन्य अपराध भएको भन्दै त्यसमा हदैसम्मको कारबाही गरिनुपर्ने पनि आवाज उठाए । सो अवसरमा नेता झाले देशको आर्थिक अवस्था दयनीय रहेको चित्रण गरे । उनले भने,‘आर्थिक रूपमा हामी अत्यन्तै खराब अवस्थामा छौं । यो अवस्थामा हामी कसरी पुग्यौं ? यसबारे खोजबिन गर्नुपर्छ । अहिले प्रति नेपाली ७६ हजार ऋण पुगेको छ । अनुदान र ऋण लिने अनि बाँडिचुँडी खाने प्रचलन बन्द गर्नुपर्छ । बरु, नेपाललाई ट्याक्स हेभेन कन्ट्री बनाउनेतर्फ अघि बढ्ने की ? नेपाल अब आर्थिक रुपमा भेनेजुएलाको अवस्थामा नपुग्ला भन्न सकिन्न । नेपालीले बढिभन्दा बढि कमाउनेतर्फ राज्यको ध्यान जानुपर्छ ।’

नेता झाले अहिले धरानमा भैरहेको आन्दोलनको अवस्थाबारे पनि गम्भीर भएर सोच्नुपर्ने बताए । उनले भने,‘नेपाल भनेको विविधतायुक्त देश हो । हामी यहाँ सबैखाले विचार मान्ने समूदाय छौं । सबैको समान अधिकार छ । कुनै प्रकारको द्धेष र द्धन्द्ध फैलिनुहुँदैन् । जातीय र धार्मिक द्धन्द्ध फैलिनुहुँदैन् । जनता जनताबीच फाटो ल्याउनुहुँदैन् । अतिवादलाई बढावा नदिउँ । सबै मिलेर अघि बढ्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot