Logo

श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग



केदार मगर / रासस खोटाङ, १ कातिक । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान–२०८०’ मा वडा नं. ११ खार्मीका ९४ जनाले आर्थिक सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रैमहिना सञ्चालनमा ल्याउन ‘होस्टेमा हैसे’ गर्न उनीहरूले २०० देखि ३० हजारसम्म सहयोग उपलब्ध गराएका हुन् ।

जिल्लाको उत्तरी क्षेत्र जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको हरेलोडाँडा–खार्मी सडक मर्मतका लागि छ लाख ६२ हजार ४४६ सङ्कलन भएको अभियानका संयोजनकर्ता हर्कराज राईले जानकारी दिए । “जनताले विकास चाहेका छन् । राज्यले प्रर्याप्त बजेट उपलब्ध गराउन सकेको छैन । नगरपालिकाले चलाएको श्रमदान अभियानमा हामीले स्थानीयस्तरबाटै भए पनि जनताको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ”, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला सदस्यसमेत रहेका संयोजनकर्ता राईले भने, “दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा खार्मीका जनताले आफ्नो जन्मभूमिप्रति देखाएको मायाँ तथा सद्भावको उच्च सम्मान गर्नैपर्छ । उनीहरूले उपलब्ध गराएको आर्थिक सहयोगले अहिले बाह्रैमहिना यातायात सञ्चालन हुनेगरी सडक मर्मत गर्न सफल भएका छौँ ।”

श्रमदान अभियानमा सबैभन्दा बढी खार्मीमा जन्मिएर वैदेशिक राजगारीको सिलसिलमा विभिन्न देश पुगेका स्थानीय बासिन्दा छन् । साबिक खार्मी गाविस–६ निवासी स्वर्गीय सनतकुमार राईको छोरी सविना राई र ज्वाइँ मोहन राईले हङकङबाट सबैभन्दा बढी ३० हजार उपलब्ध गराए ।

यस्तै साविक खार्मी–५ फूलबिसौनाका भागेश्वर पाख्रिनले जापानबाट २२ हजार पाँच, वडानं–६ का राजकुमार श्रेष्ठले साउदी अरबबाट २० हजार, वडानं–५ का पुष्पकुमार राईले फ्रान्सबाट २० हजार, वडानं–६ का रञ्जित राईले साउदी अरबबाट १७ हजार ४७२, सोही वडाका दिपेन्द्र राईले मलेसियाबाट १५ हजार ३३०, वडानं ९ का कटक राई र खबिराज राईले काठमाडौँबाट २०/२० हजार, वडानं– ८ का रुपा उदासले काठमाडौँबाट १५ हजार, वडानं ५ का रञ्जना राईले फ्रान्सबाट १४हजार १३९, वडानं –५ का श्यामकुमार राईले १२ हजार र सोही ठाउँका रेनुका राईले दुवाईबाट ११ हजार तथा वडानं ६ का रोशन श्रेष्ठले दक्षिण कोरियाबाट दस हजार ९९९ र साबिक पाथेका–२ का जगतमणि राईले कतारबाट २० हजार,उपलब्ध गराएको जनाइएको थियो ।

सो अभियानमा अन्य ३१स्थानीय बासिन्दाले दस हजारका दरले सहयोग उपलब्ध गराएको संयोजनकर्ता राईले जानकारी दिए । आर्थिक सहयोग उपलब्ध गराउनेमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, व्यापारी र पत्रकारसमेत रहेका छन् ।गत जेठ–१८ गतेदेखि २८ गतेसम्म दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा ५०० भन्दा बढीको सहभागिता रहेको थियो । आफ्नो ठाउँमा सञ्चालन भएको श्रमदान अभियनमा स्थानीय बासिन्दाहरु स्वतःस्फूर्तरुपमा कुटो, कोदालो, बेल्चा, झम्पल, गैँतीलगायत घरेलु औजार लिएर काममा सहभागी भएका थिए ।

श्रमदान अभियानका क्रममा ३६ घनमिटर सडक सोलिङ गरिएको थियो भने, साढे पाँच किलोमिटर सडकखण्ड ग्राबेल गरिएको थियो । सतचालिस वटा ट्याक्टरबाट ग्राबेलका लागि आवश्यक रोडा÷ढुङ्गा खार्मी र नेर्पाको सीमानामा पर्ने बगरेभञ्ज्याङबाट ल्याइएको संयोजनकर्ता राईले जानकारी दिएका छन् ।

श्रमदान अभियानमा सहभागी स्थानीय बासिन्दा आफैले खाना तथा खाजाको पनि व्यवस्था गरेका थिए । नगरपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा सहभागी हुन नसक्ने स्थानीय बासिन्दाले सहभागी हुनेहरूका लागि स्थानीयस्तरमा उत्पादन हुने आलु, मकै, दही, मही र जाँडसमेत खाजा उपलब्ध गराएका थिए ।

यो श्रमदान अभियान प्रभावकारी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उनले भने, “जसरी भएपनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडकहरु वर्षा सुरु हुने बित्तिकै अवरुद्ध हुने गरेका थिर्ए। ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्नेगरी श्रमदान अभियान सञ्चालन गरिएको हो । यो निरन्तर चलिरहन्छ ।”

श्रमदान अभियानले दसैँतिहार, छटलगायत चाड मनाउनका लागि आवतजावत गर्न सहज भएको छ । हिउँदको समयमा मात्रै सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी सडक श्रमदान अभियानमार्फत् मर्मत गरेर बाह्रै महिना सञ्चालनमा आउने बनाइएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । नगरपालिकाको आव्हानमा खार्मीमा सञ्चालन गरिएको श्रमदान अभियानमा आर्थिक सहयोग गर्ने सहयोग दाताको नामावली फ्लेक्समा प्रिन्ट गरेर वडा कार्यालय खार्मी र दुईवटा सार्वजनिकस्थलमा टाँसिएको छ।

आगामी दिनमा समेत श्रमदान अभियानलाई निरन्तरता दिने योजना रहेको अर्का संयोजनकर्ता एवम् नेपाली काँग्रेस खोटाङ शाखाका सदस्य श्यामकुमार राईले जानकारी दिए । श्रमदान अभियानका लागि नगरपालिकाले जेसिबी र प्राविधिक सहयोग उपलब्ध गराएको थियो । यसैगरी खार्मीका वडाध्यक्ष इखबहादुर राईको नेतृत्वमा खार्मी–हुर्लुङ सडक मर्मतका लागि समेत श्रमदान अभियान सञ्चालन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot