Logo

बंगलादेश सरकारले एमबीबीएस र बीडीएसतर्फ प्रदान गरेको छात्रबृत्तिमा चलखेल, १० विद्यार्थी सिफारिस भएरपनि जान पाएनन्



काठमाडौं, २८ वैशाख । बंगलादेश सरकारले नेपाल सरकारलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रदान गरेको छात्रवृत्तिमा चलखेल भएको छ । बंगलादेश अध्ययनका लागि सिफारिस भएर जान नपाएका विद्यार्थी र उनीहरुका अभिभावकहरुले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी छात्रबृत्तिमा चलखेल भएको खुलासा गरेका हुन् ।

उनीहरुकाअनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई सन् २०२४ मा १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको थियो । बंगलादेश सरकारले प्रदान गरेको छात्रबृत्तिमा विद्यार्थी पठाउनका लागि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई विद्यार्थी छनोटको जिम्मा दियो । चिकित्सा शिक्षा आयोगले परीक्षा सञ्चालन गरेर १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि सरकारलाई सिफारिस गरेको थियो ।

चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पठाएका नाममध्ये एमबीबीएसतर्फ ९ जना र बीडीएसतर्फ १ जनामा अरुकै नाम हालेर पठाइएको उनीहरुले बताए । बंगलादेशको चिकित्सा शिक्षा महानिर्देशनालय (डीजीएमई) ले प्रकाशन गरेको नाम लिष्टमा सिफारिस गरेर पठाइएकोहरुको भन्दा अरूकै नाम समावेश छ ।

यसरी छात्रबृत्तिमा सिफारिस भएरपनि जान नपाउनुमा चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पठाएपछि नाम हेरफेर भएको पीडितहरुको आशंका छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसतर्फ लिएको परीक्षा उत्तीर्ण भई सिफारिस भएरपनि राहुल साह, देवशेखर रौनियार, पारस कठायत, आर्शिवाद झा, अनुकुमारी साह, अमृता कुमारी, ललनकुमार दास र पुनम चुनारको नाम हटाएर पठाइएको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको छात्रवृत्ति शाखाले समेत उनीहरुकै नाम सिफारिश गरेको थियो ।

उनीहरुको ठाउँमा चिकित्सा शिक्षा आयोगको सिफारिसमा नपरेका आशिषकुमार साह, असन जमाल, एमडी मसुम अनसारी, गौरव झा, आशिष अधिकारी, आदित्य महतो, नेहा अन्सारी, अभिशेक साह र आदर्श कुमार यादवको नाम परेको छ ।
त्यस्तै, बीडीएसतर्फ पनि आयोगको सिफारिसमै नपरेका आशिषकुमार साहले छात्रवृत्तिमा स्थान पाएका छन् ।

यसरी, आफूहरुलाई आयोगले अध्ययनका लागि सिफारिस गरेर पनि चलखेलका कारण पढ्न जान नपाएकोमा विद्यार्थीहरुले दुःख पोखे । उनीहरुले आफूले पढ्न जना पाउनुपर्ने र उक्त कुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।

सिफारिस भएर पनि एमबीबीएर अध्ययनका लागि बंगलादेश जान नपाएका पारस कठायतले बंगलादेश गएर अध्ययन गर्न पाउनुपर्ने बताए । साथै, आफूहरु बंगलादेश गएर अध्ययन गर्न नपाउँदै गर्दा सरकारले नेपालमै छात्रबृत्तिमा अध्ययन गराउनुपर्ने उनको माग छ ।

पारस कठायतका अभिभावक सिद्धिप्रसाद ढुङ्गानाले चिकित्सा शिक्षा आयोगले छनोट गरेर पठाएका विद्यार्थीहरु एमबीबीएस र बीडीएस अध्ययन गर्न पाउने अवसरबाट बञ्चित हुन नहुने बताए । सकभर उनीहरुलाई बंगलादेशमै अध्ययन गर्ने अवसर मिलाइनुपर्ने र यदि त्यो सम्भव नहुँदा नेपालमै छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरिनुपर्ने बताए । साथै, विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुलाई उनले यो मुद्दा उठाइदिएर सहयोग गर्न अपीलसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot