अन्नपूर्ण (कास्की), ५ फागुन । पोखरा पर्यटकीय सहरका रुपमा परिचित छ । यहाँको फेवाताल, माछापुछ«े, बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै मानव निर्मित संरचना थपिएका छन् । योबाहेक पोखरा म्याराथनले पनि पोखरा चिनाइरहेको छ ।
खेल जीवनपश्चात् खेलप्रतिको मायाले भूपूखेलाडीहरुले सञ्चालन गरेको प्रतियोगिता हो पोखरा म्याराथन । भूतपूर्वखेलाडी मञ्च नेपाल २०५८ साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् रुपमा दर्ता भयो । त्यसपछि द्वन्द्वको डरमा पनि आँट गरेर प्रतियोगिता सुरुआत गरेको संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए ।
प्रथम संस्करणको म्याराथनमा ५६ जनाले भाग लिए । त्यो बेला त्रिभुवन आर्मी क्लबका खिमु गिरी प्रथम भएको अध्यक्ष रानाभाटले जानकारी दिए । धावक गिरी ४२.१९५ किमीको दूरी २ घण्टा २६ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए । त्यो बेला पुरस्कार राशि ५० हजार रुपैयाँ राखिएको थियो । प्रथम भएको खिमले उक्त रकम पाए । खिमले पार गरेको त्यो दूरीले पोखरा म्याराथन दूरी अझै लम्ब्यायो ।
“पहिलो म्याराथनमै अनेकन चुनौती सामाना गर्नुप¥यो । एक त ४२ किलोमिटरको दौडसँगै बजार परिक्रमा गर्नु आफैँमा चुनौतीपूर्ण काम थियो,” उनले भने, “पोखराबाट सुरु भएको दौड लेखनाथ पुग्दा केही झमेलामा प¥यो । यत्रा मान्छे बजारमा उतारेर के गर्न खोजेको होला पनि भन्न भ्याए ।” स्थानीयवासीको नमिठो भनाइ, सुरक्षा, ट्राफिक चुनौतीलगायत समस्या चिर्दै पहिलो संस्करण सकिएको संस्थापक अध्यक्ष रानाभाटले बताए ।
समस्यासँग जुध्दै दोस्रो संस्करण पनि गरेको संस्थाका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले बताए । दोस्रोमा एक सय ५० जनाले भाग लिएको उनले सम्झे । दोस्रो संस्करण पनि सोही समयमा गरियो, त्यो संस्करणमा पनि आर्मीका अर्जुनकुमार बस्नेत विजयी भएका थिए,” गुरुङले भने, “उनले निर्धारित दुरी २ घन्टा २५ मिनेट २८ सेकेन्डमा पार गरेका थिए ।”
त्यसपछि तेस्रो संस्करण सकेर चौथोसम्म पुग्दा विभिन्न सङ्घसंस्था भूपूखेलाडी मञ्चसँग जोडिएको पूर्वअध्यक्ष गुरुङले जानकारी दिए । त्यसपछि निरन्तरताका लागि झनै बल पुगेको उनले बताए । केही वर्ष राष्ट्रिय वाणिज्य बैंकको टाइटलमा नै म्याराथन भयो । नवौँ पोखरा म्याराथनमा गैरआवासीय नेपाली सङ्घ (एआरएनएं) जोडियो र एआरएनए पोखरा म्याराथनकै नामबाट प्रतियोगिता भयो ।
सोही समयमा म्याराथनलाई आकर्षक बनाउन उमेर समूह र पत्रकारलाई पनि सहभागी गराएको गुरुङले बताए । आठौँ संस्करणबाट १० किलोमिटर र पाँच किलोमिटरको दौड पनि समावेश भयो । नवौँबाट ‘रन फर फन’ का नामबाट दौडन इच्छुक सबैलाई सहभागी गराएको उनले बताए ।
नवौँ गरेपछि एआरएनएले प्रायोजकबाट साथ छोडेको गुरुङले बताए । सो समयमा जनप्रतिनिधि नभएकाले कर्मचारी छिनछिनमा परिवर्तन भइरहने कारण आर्थिक सहयोग प्राप्त हुने ठाउँबाट नपाएको उनको गुनासो छ । संस्थालाई आर्थिक सङ्कट पर्दै जान थाल्यो । आर्थिक अभावकै कारण द्वन्द्व र जनआन्दोलका बीचमा पनि नरोकिएको पोखरा म्याराथन २०६७ पछि भने रोकियो । त्यो बीचमा मञ्चले केही न केही खेल गतिविधि गरिरहेको संस्थाका प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
म्याराथन रोकिरहेको केही वर्षपछि संस्थाले लक्ष्मी ग्रुपको सफल दूधलाई प्रायोजकका रुपमा पाएको प्रथम उपाध्यक्ष गुरुङले बताए । २०६७ सालदेखि रोकिएको म्याराथन २०७२ देखि सफल पोखराको नामबाट फेरि सुरु भयो ।
त्यसपछिका संस्करणको पोखरा म्याराथनमा सफल दूधले नै प्रायोजन गरिरहेको प्रथम उपाध्यक्ष गुरुङले जानकारी दिए । म्याराथनको १२औँ संस्करणबाट अपाङ्गहरुका लागि भनेर दृष्टिविहीन र ह्विल चियर दौड पनि समावेश गरेको उनले बताए । १४औँ संस्करणमा विदेशी धावकले उपाधि जितेपछि म्याराथनको चर्चा झनै चुलिएको संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । “त्यो संस्करणमा जापानका ताकानासीले उपाधि जितेको थिए । त्यसपछि पोखरा म्याराथनको थप चर्चा हुन थालेको हो,” अध्यक्ष पराजुलीले भने, “त्यसपछि १५औँ संस्करणबाट महिलाहरुका लागि मात्र २१ किलोमिटरको हाफ म्याराथन पनि समावेश गरिएको छ ।” १५औँ संस्करणमा कोरोनाका कारण विदेशी सहभागी भएनन् । १६औँ संस्करणमा पुनः विदेशी खेलाडीले उपाधि जितेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
सो संस्कणमा केन्याका धावक स्टेफेन कोस्गेई प्रथम र केन्याकै धावक सिमोन किप्लागट दोस्रो भएको थियो । यसले झनै पोखरा म्याराथनको महत्व र चर्चा बढेको थियो । विदेशी धावकहरु पनि सहभागी हुन थालेसँगै पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । लामो समयको प्रयास र प्रक्रियापछि पोखरा म्याराथनले एसोसिएसन अफ इन्टरनेसनल म्याराथन सोसाइटी (एम्स) को सदस्यता पाएको उनले बताए । पोखरा म्याराथन नेपालबाट एम्समा दर्ता हुने दोस्रो प्रतियोगिता बनेको अध्यक्ष पराजुलीले जानकारी दिए । “पोखरा म्याराथन एम्समा दर्ता हुने ४०औँ प्रतियोगिता बनेको छ । नेपालमा भने दोस्रो हो”, उनले भने, “प्रक्रिया हामीले पहिला सुरु गरेका हौँ । तर नेपालगञ्जले हामीले भन्दा दुई दिनअगाडि सदस्यता पाएको हो ।”
एम्समा दर्ता भएपछि पोखरा म्याराथन अन्तर्राष्ट्रिय बाटोमा हिँडेको उहाँको भनाइ थियो । यसले गर्दा पोखरा म्याराथन विश्वले चिन्ने अध्यक्ष पराजुलीले बताए । “यसका लागि हामी योग्य थियौँ । एम्समा दिनुपर्ने सबैभन्दा पहिलो कुरा रुटको प्रमाणीकरण गरिसकेपछि सदस्यता दिएको हो”, उनले भने, “धावकहरुक लागि शौचालय निर्माण, खाजाको व्यवस्थालगायत विषयमा सम्झौता पनि भएको त्यसको पालना पनि हामीले गर्नैपर्छ ।”
अन्तर्राष्ट्रिय मान्यता पाएकाले यो पटकदेखि धावकहरुले चिप्सको प्रयोग गर्ने उनले जानकारी दिए । “धरान रनका संस्थापक सन्तोष राईले चिप्सका लागि सहयोग गर्ने भनेका छन् । चिप्सको टेक्निसियनहरु पनि उनले नै ल्याउछन्”, अध्यक्ष पराजुलीले भने, “एउटा डिभाइस कम्प्युटरसँग कनेक्ट गरिन्छ र धावकले चिप्स लगाएपछि समय हेरिरहनु पर्दैन जसले गर्दा प्राविधिक जनशक्ति धेरै चाहिँदैन ।” यो पटक म्याराथन र हाफ म्याराथनको धावकहरुले मात्र चिप्स प्रयोग गर्ने उनले बताए ।
आर्थिक अवस्था कमजोर भए पनि समयको मागसँगै पुरस्कार राशि वृद्धि गर्दै गएको अध्यक्ष पराजुलीले जानकारी दिए । “पहिलो संस्करणमा ५० हजार पुरस्कार राखेका थियौँ”, उनले भने, “समयअनुसार बढाउँदै ७० हजार, चार लाख हुँदै अहिले पाँच लाख पु¥याएका छौँ ।” पहिले लेखनाथतिर पनि रुट पारिने गरेकामा पोखरा महानगर भइसकेपछि अहिले पोखरामा मात्र रुट बनाइएको छ ।
सुरुका दिनमा रकमकै कारण प्रतियोगिता गर्न समस्या परे पनि अहिले तीन तहका सरकार, विदेशी सङ्घसंस्था, खेलकुदप्रेमीको सहयोगले थप हौसला पलाएको पराजुली बताउछन् । पछिल्लो समय स्थानीयको पनि राम्रै साथ र समर्थन छ । दौडमा पोखराका विभिन्न टोलमा जातीय वेशभूषासहित सांस्कृतिक झाँकीले धावकहरुलाई अझ हौसला थपिने उनले बताए । “पहिला सरकारी कार्यालयबाट सहयोग आउनै समस्या थियो”, उनले भने, “गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरका प्रमुख मानबहादुर जिसी संरक्षक बनिदिएका छन् ।” अहिले भने सुरक्षा र ट्राफिक व्यवस्थापनको समस्या टड्कारो छ ।
आगामी दिनमा एम्सको नियम र परिधिमा रहँदै म्याराथन गर्दै जाने र अबको केही वर्षमा ५० हजार धावकलाई दौडाउने लक्ष्य लिएको मञ्चका अध्यक्ष पराजुलीले बताए । आफूहरुको मुख्य समस्या ट्राफिकको भएकाले आगामी दिनमा त्यो समस्यामा पनि हल हुँदै जानेको उनको भनाइ छ ।
पछिल्लो समय पोखरा म्याराथन पोखरा चिनाउने माध्यम बनेको उनको भनाइ थियो । पोखरा चिनाउने धेरै चीजहरुमध्ये पोखरा म्याराथन पनि थपिएको उनले बताए । “हिमाललाई हेर्दै तालको किनार किनार पुल तर्दै मन्दिर, मस्जिद, गुम्बाको छेउछाउमा दौडन विरलै पाइन्छ,” उनले भने, “यस्तो चीजलाई प्रचार गर्नुपर्छ, यसका लागि विभिन्न निकायसँग कुरा गरिरहेका छौँ ।”
विभिन्न चरण चुनौती र समस्यालाई पार गर्दै अघि बढेको भूपूखेलाडी मञ्च नेपालले यही फागुन ६ गते १७औँ संस्करणको पोखरा म्याराथनको आयोजना गर्दैछ । यसका लागि संस्था अन्तिम तयारीमा छ ।
नेपाली म्याराथनको इतिहासमै सर्वाधिक पुरस्कार राशिको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २९ विदेशी धावकसहित नेपाली धावकले प्रतिस्पर्धा गर्नेछन् । यो पटकको म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को टाइटल जित्न दौडिने अध्यक्ष पराजुलीले जानकारी दिए ।
“२९ विदेशी धावक छन् । केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता छ”, उनले भने, “पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका धावकले प्रतिस्पर्धा गर्न पोखरा आएका छन् ।” महिलातर्फको हाफ म्याराथनमा २० जना धाविकाले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । रासस