Logo

कारागारको बसाई जोखिमयुक्त



बर्दिवास, ३१ जेठ । जीर्ण अवस्थामा रहेका महोत्तरी कारागारका कैदीबन्दीले आफूहरुको कारागार बसाई जोखिमयुक्त रहेको गुनासो गरेका छन् ।

आफूहरुलाई राखिएको भवन अति जीर्ण भएकाले जुनसुकै बेला ढल्न सक्ने हुँदा बसाइ जोखिमयुक्त बनेको कैदीबन्दीले गुनासो व्यक्त गरेका छन् ।

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका कारागार भवन त्यसयता मर्मतसम्भार नहुँदा दिनदिनै भित्ता र छत उप्किएर झर्ने क्रम बढेको कैदीबन्दीले बताएका छन् ।

दैनिकजसो भवनको भित्ता तथा छतका इँटा र सिमेन्टका टुक्रा उप्किएर झर्दा यही पुरिन्छ कि भन्ने डर लाग्ने गरेको महिला कक्षकी कैदी ललिता सिंहले बताउनुभयो ।

यसैगरी कारागारका चौकीदारसमेत रहेका पुरुष कक्षका कैदी श्रीनारायण महतोले जीर्ण भवनको बसाई प्रत्येक पल डरलाग्दो भएको बताउनुभयो ।

पुरुष र महिलाका लागि छुट्टाछुट्टै कक्ष रहेको कारागारमा जम्मा १३५ कैदीबन्दी राख्ने क्षमता छ । तर पछिल्लो डेढ दशकयता कारागारमा सधैँजसो ४०० को हाराहारीमा कैदीबन्दी रहँदै आएको कारागार प्रशासनले जनाएको छ ।

अहिले महिलाकक्षमा पाँच आश्रित बालबालिकासहित ३९ र पुरुषकक्षमा ३७२ गरी ४०१ कैदीबन्दी रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

जम्मा कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषामा कारागार नभएकाले त्यहाँका न्यायिक निकायले यहाँ पठाउने भएका कारण यो कारागारमा कैदीबन्दीको चाप बढेको कारागार प्रमुख ठाकुरले बताउनुभयो ।

पुरानो जीर्ण भवनमा कैदी थुनुवा राख्नु जोखिमयुक्त रहेको स्वीकार गर्दै कारागार प्रमुख ठाकुरले अब पुरानो भवन टालटुल गरेर समस्या समाधान नहुने भएकाले नयाँ कारागार भवन बनाउन आवश्यक भएको बताउनुभयो ।

यो कुरा आफूले जिल्लास्थित स्थानीय प्रशासन, कारागार व्यवस्था विभाग र सम्बद्ध अन्य निकायमा जानकारी गराएको कारागार प्रमुख ठाकुरले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot