Logo

‘कान्तिपुर’द्वारा संकलित रकम राहत कोषमा हस्तान्तरण



काठमाडौंँ, २० भदौ । कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित रु एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई आज हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । फाउण्डेशनले बाढीपहिरा पीडितलाई राहत पु¥याउने उद्देश्यले ‘कान्तिपुर बाढी–पहिरो राहत कोष’ स्थापना गरी सो रकम संकलन गरेको थियो ।

फाउण्डेशनले रु ११ लाख राखेर स्थापना गरेको कोषमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, नेपाल मेडिसिटी अस्पताल र प्रभु बैंकले प्रतिसंस्था रु ११ लाख सहयोग गरेका थिए । कोषमा जम्मा भएको बाँकी रकम सर्वसाधारणबाट संकलन भएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा गैर–आवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पनि सहभागी थिए ।

त्यस्तै सिद्धार्थ, एनआईसी एसिया, सानिमा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतहरु क्रमश: शम्भुनाथ गौतम, लक्ष्मण रिजाल, भुवनकुमार दाहाल र अशोक शेरचन तथा नेपाल इन्भेष्टमेन्टका बैंकका नायब महाप्रबन्धक बिजेन्द्र सुवाल उपस्थित थिए ।

कार्यक्रममा कान्तिपुर र दी काठमाण्डू पोष्टका प्रधान सम्पादकद्वय सुधीर शर्मा र अखिलेश उपाध्याय, कान्तिपुर पब्लिकेशन्सका सहायक महाप्रबन्धक महेश स्वाँरलगायतको पनि उपस्थिति थियो ।

 



प्रतिक्रिया दिनुहोस्