Logo

देउवाले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसक्ने भए राजिनामा दिए हुन्छ : रावल



३० पुस, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान बमोजिम सरकारले जतिसक्दो चाँडो प्रदेशसभा बस्ने ठाउँ र प्रदेश प्रमुख तोक्नुपर्ने बताएका छन् ।

सुरुमा आफूहरुसँग सल्लाह नगरी अघि बढेकाले अहिले पनि सरकारले गर्ने काममा आफूहरुको सहमति नहुने भन्दै रावलले गर्नुपर्ने सबै काम गर्न सरकारलाई आग्रह गरिएको बताए । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग कुरा गर्दै रावलले प्रदेश प्रमुख तोक्ने काम सरकारको भएको भन्दै संविधानअनुसार राजनीतिक सहमति नचाहिने उल्लेख गरे ।

देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसक्ने भए सरकार छाड्न आग्रह गर्दै रावलले बाँकी काम वाम गठबन्धनको सरकारले गर्ने बताए । “सरकारलाई गाह्रो भयो, काम गर्न नसक्ने भए किन बसिरहने ? हामीले बहुमत प्राप्त गरिसकेका छौँ । हामी गछौँ । डराउने मान्छे किन बसिरहने कुर्सीमा ?” रावलले भने ।

राष्ट्रियसभाको मिति तोकिएको अवस्थामा अब प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिए पनि कुनै फरक नपर्ने रावलको भनाई छ । यद्यपी प्रदेश प्रमुख र अस्थायी राजधानी भने तोक्नै पर्ने रावलले बताए ।

एमाले र माओवादीबिच पार्टी एकता भएरै छाड्ने दाबी गर्दै रावलले प्रचण्डलाई प्रधानमन्त्रीको लोभ देखाएर मुख नमिठ्याउन कांग्रेसलाई सुझाब दिए ।
“हामी पार्टी एकताको प्रक्रियामा अगाडि बढिसकेका छौँ । एमाले अध्यक्ष केपी ओली नेपाल फर्किएपछि एकता प्रक्रियाले तीब्रता पाउँछ ।” रावलले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot