Logo

कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा



१ माघ, काठमाण्डौ । प्रदेश र प्रतिनिधीसभाको चुनावमा पराजित भएपछि नेपाली कांग्रेसभित्रको किचलो मौलाउँदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चुनावको समिक्षासमेत गर्ने अवसर नदिँदा अरु नेताहरु कांग्रेसलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने भन्दै भेला र गोप्य बैठक गर्दै आएका छन् ।

चुनावको सबै नतिजा नआउँदै युवा नेता गगन थापाले अहिलेको नेतृत्वले अब कांग्रेसलाई संचालन गर्न नसक्ने बताएर तरङ्ग ल्याएका थिए । थापाले त नेतृत्वले युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज नै उठाए । यति मात्रै होइन, कांग्रेसलाई बलियो बनाउनका लागि आवश्यक परे हस्तक्षेप नै गर्न आफू अघि सर्ने बताएपछि उनी चर्चामा आए ।

तर देउवा गुटका नेताहरुले थापाको खेदो खने । कारबाही गर्नेसम्मको हल्ला चलाइयो । तर थापाकै शैलीमा अर्का नेता प्रकाशमान सिंहले पनि देउवाको खुलेरै आलोचना गरे । आफू नेतृत्व लिन सक्षम भएको दाबी गर्दै प्रकाशमानले देउवालाई राजिनामा दिन दबाब नै दिए ।

पछिल्लो समय क्रमबद्ध रुपमा पार्टी नेतृत्वमाथि आलोचना र दबाब सृजना भइरहेको छ । तत्कालका लागि केन्द्रिय समितिको बैठक बसेर चुनावको बारेमा समिक्षा गर्नुपर्ने माग उठिरहेको छ । तर सभापति देउवाले सुनेको नसुन्यै गरेका छन् । देउवाले त आफू चुनाव हार्ने, दोष चाँही मलाई दिने भनेर आलोचना गर्नेहरुको मुख थुन्ने प्रयाससमेत गरे । तर देउवाको यो भनाई जिम्मेवार व्यक्तिको मान्न सकिने जस्तो भने थिएन ।

चुनावमा पराजित भएपछिपनि देउवाले केही गरेनन् । न औपचारिक रुपमा आफ्नो धारणा राखे, न पार्टीभित्र छलफल र समिक्षा गर्ने मौका दिएका छन् । बरु आफू निकटका नेताहरुलाई अहिलेकै नेतृत्व ठीक छ भनेर भन्न लगाएका छन् ।

देउवाको गुटमा बालकृष्ण खाँड, प्रकाशशरण महत, महेन्द्र राय यादव, मिन विश्वकर्मा लगायतका नेताहरु सक्रिय छन्, जसले देउवाको नेतृत्व परिवर्तन गर्न नहुने बताउँदै आएका छन् । यति मात्रै होइन, यिन नेताहरुले नेतृत्व परिवर्तनको कुरा गर्ने अन्य नेताहरुको आलोचनासमेत गरेका छन् । यि नेताहरु देउवा बचाउ अभियानमा खुलेरै सक्रिय छन् ।

सभापति देउवापछिको अर्को बलियो समुह रामचन्द्र पौडेलतिर छ । पौडेलले पनि भेला र बैठकहरुलाई तिब्रता दिएका छन् । पौडेल आफूले नेतृत्व लिनसक्ने अवस्थामा नै त छैनन्, तर देउवाको नेतृत्व हटाउनका लागि पौडेल लागि परेका छन् ।

सबैतिरबाट देउवाको नेतृत्व असफल भएको भनिरहेका बेला पौडेललाई सजिलो पनि भएको छ । त्यति मात्र नभै पछिल्लो महाधिवेशनमा पौडेलको साथ छोडेका कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी पनि अहिले उनै पौडेले राखेको बैठकमा सहभागि हुन थालेको बताइएको छ ।

पौडेलकै गुटका नेताहरु नविन्द्रराज जोशी, कल्याण गुरुङ, रामकृष्ण यादव, जीवन परियार लगायतका नेताहरु पनि छुट्टाछुट्टै समिक्षामा जुटेका छन् ।

युवा नेताहरुको समुहमा गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताहरु सक्रिय छन् । यो समुहको नेतृत्व गर्ने भनेर चर्चामा रहेका विश्वप्रकाश शर्मालाई देउवाले पार्टीको प्रवक्ता बनाइदिएपछि शर्मा बाहिरए जस्तै भएको छ ।

अर्कोतिर जिल्ला सभापतिहरुको गुटको नेतृत्व संजय गौमले गरेका छन् । बर्दियाका सभापति गौतमले जिल्ला सभापतिहरुको भेला र बैठकलाई प्राथमिकतामा राखेका छन् ।

विभिन्न किसिमका गुट, आलोचना र दबाबले यतिखेर सभापति देउवालाई सकस छ । तर गुटगत राजनीतिले नेतृत्व हटाउनसक्ने सम्भावना त्यति बलियो भने छैन । पार्टीको विधी र प्रक्रिया एकतातिर गुट, आलोचना र दबाब अर्कोतिर छ ।

यद्यपी देउवालाई केन्द्रिय समितिको बैठक नबोलाई त सुखै छैन । बैठकमा हुने समिक्षाले महासमिति बैठक बस्नुपर्ने अवस्था आउन सक्छ । महासमिति बैठकले विशेष महाधिवेशनसम्मको आवाज बुलन्द पार्यो भने चाँही नेतृत्व परिवर्तनसम्मको घटनाक्रम नहोला भन्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot