Logo

चलचित्र ‘रानीमहल’को घोषणा, वर्षा र आशिषले रोमान्स गर्ने



काठमाडौं, ११ माघ । प्रेमको प्रतिक मानिने पाल्पा जिल्लामा अवस्थित रानीमहलको नाममा चलचित्र निर्माण हुने भएको छ । पुराना तथा नयाँ कलाकारहरुलाई लिएर चलचित्र ‘रानीमहल’ बन्ने भएको हो ।

चलचित्रको बिहीबार काठमाडौंमा एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा गरिएको हो । आयोजित कार्यक्रममा चलचित्रको निर्माण घोषणासँगै शुभ साइत पनि गरिएको छ । कार्यक्रममा मुख्य कलाकारहरुले चलचित्रका लागी मुहर्त सर्ट दिए ।

हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्रमा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, बिएस राना, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेलको मुख्य भूमिका रहनेछ । आशिष, मानस्वी र साहिल यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

त्यस्तै उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह, गणेश पौडेल लगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहनेछ ।

रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । प्रेमको यही प्रतिकलाई आत्मसाथ गरी निर्माण गरिने चलचित्रमा प्रेमसंगै मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्देशक न्यौपाने बताउँछन् ।

स्वस्तिक फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता बिमल भुसाल हुन । विशुद्ध त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिने चलचित्रमा दीपक पौडेलको पटकथा रहनेछ ।

यही माघको तेस्रो सातादेखी छायाँकनमा जान लागेको चलचित्रको छायाँकन पाल्पा, बुटवल, भैरहवा, चितवन, स्याङजा, पोखरा र काठमाडौंमा गरिने निर्माण पक्षले जनाएको छ । निर्माण युनिटले चलचित्रको बजेट डेढ करोड छुटयाएको छ । चलचित्रमा अर्जुन पोखरेल र हर्कुलश बस्नेतको संगीत रहनेछ ।

हिमाल केसीको द्धन्द्ध, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रलाई निरज कंडेलले खिच्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot