Logo

गंगामाया अधिकारीद्धारा पूनः आमरण अनसन सुरु (फोटोफिचर)



काठमाडौं, १५ जेठ । १४ वर्षयता सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६२ वर्षीय गंगामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर मंगलबारदेखि फेरी आमरण अनसन सुरु गरेकी छन्।

लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी गंगामायाले अस्पतालकै बेडबाट संचारकर्मी र मानव अधिकारकर्मीमाझ छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै फेरी आमरण अनसन घोषणा गरेकी हुन्।

त्यसक्रममा गंगामायाले छोराको हत्यारालाई अझै कार्वाही नगरेकोमा सरकार र आफूमाथि न्याय नगरेको भन्दै अदालतप्रति आक्रोश पनि व्यक्त गरिन्। अव आफूलाई पनि फाँसी दिएर मारी दिन सरकारसँग माग गरिन्। गंगामायाले छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन गरिरहेकै बेला पति नन्दप्रसादको पनि ज्यान गएकोमा भावविह्वल हुँदै अव पनि न्याय नपाए आत्मादाह गर्ने चेतावनी पनि दिइन्।

गंगामायाले यस अघि पनि न्यायको खोजी गर्दै पटक-पटक आमरण अनसन बसेकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई वास्ता नगरेको भन्दै आपत्ति जनाउनु भयो। गंगामायाले आफूलाई न्याय दिलाउने काममा प्रयास गरेको भन्दै संचारकर्मी र मानव अधिकारकर्मीहरुलाई धन्यवाद पनि दिइन्।

तत्कालीन विद्रोही माओवादी पक्षबाट अपहरणमा परी २०६१ साल जेठ २४ गते हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेका बेला वितेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा छ।

शारिरीक रुपमा समेत असक्त भएकी गंगामायाले छोराको हत्यामा संलग्न छवी पौडेल पुष्पकमल दाहालको संरक्षणमा हिँडिरहँदा पनि कार्वाही गर्न नसकेको पनि बताइन्। उनले न्याय नदिए पाउने ठाउँ देखाउन पनि सरकारसँग माग गरिन्। कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नमाथि कार्वाही गर्न अधिकर्मीहरुले पनि सरकारलाई दवाव दिँदै आएका छन्।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot