Logo

देउवाले किन भने कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने भनेर ?



काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् । आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको टिप्पणी गरे । उनले प्रजातन्त्रको विकल्प अरु हुन नसक्ने पनि बताए । उनले जनताको अधिकार रक्षाका लागि चाडबाडलगत्तै आन्दोलन गर्नुपर्ने भएकाले तयारी गर्न पनि निर्देशन दिए । उनले कर, भ्रष्टाचार र महँगीको पर्याय वर्तमान ओली सरकार भएको भन्दै जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाए ।

देउवाले ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा असफल सरकार भएको दावी गरे। दशैं खर्चसमेत धान्न नसकिने गरी सरकारले महँगी बढाएको उनले बताए । दशैंको अवसरमा पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले भने, ‘ओली सरकार नेपालमा सबैभन्दा असफल सावित भएको छ, धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’

देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए । प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैहृय नहुने उनले चेतावनी दिए । देउवाले ओली सरकारबाट जनताले मुक्ति चाहेको भन्दै सरकार आफैं पतनको बाटोमा गएको जिकिर गरे । नेपाली कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै अन्तर्घातलाई त्यागेर एकजुट हुन पनि उनले कार्यकर्तालाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot