Logo

संविधान संशोधनमा राजपा–समाजवादीको ‘काउन्टर’,नयाँ नक्साको विषयमा अनिर्णित



काठमाडौं, जेठ २० । नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई काउन्टर दिन राजपा र समाजवादीले सोमबार छुट्टै गैरसरकारी विधेयक संसद् सचिवालयमा दर्ता गराएका छन् ।

समाजवादी जनता पार्टीका शिर्ष नेता महेन्द्र राय यादवले संविधानमा नक्सालाई समेट्ने सम्वन्धी प्रस्तावका बारेमा पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले समय आएपछि यस बारेमा निर्णय गर्ने र अहिले नै केही भन्न नसक्ने बताए ।

जनताको भावना र देशको आवश्यकता अनुसार संविधान संशोधन सम्वन्धी प्रस्तावमा पार्टीले निर्णय लिने उनको भनाई छ । भारतले मिचेको नेपाली भूमिलाई समेत समेटेर नेपालले बनाएको नक्सालाई संविधानमा समावेश गर्ने प्रस्तावमा आफुहरुले मतदान गरिन्छ की गरिन्न अहिले नै भन्न नसकिने उनको आशय थियो ।

लामोसमयदेखि संविधान संशोधनको माग राख्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालले अहिले एकिकरण भएपछि पनि त्यसलाई निरन्तरता दिदै आएका छन् । अहिले नक्साका लागि संविधान संशोधन हुन लागेकाले यही बेलामा आफ्ना मागहरुलाई पनि संवोधन गर्नु पर्ने सर्त राख्दै उनीहरुले हिजो संसद सचिवालयमा संविधान सशंसोधन सम्वन्धी अर्को प्रस्ताव पनि दर्ता गराएका छन् ।

प्रस्तावमा उनीहरुले प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्