Logo

सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ : मुख्यमन्त्री पोखरेल



रुपन्देही, २३ जेठ : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले कोरोना परीक्षणको दायरा निरन्तर वढाउँदै लगेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत भविष्यमा थप विस्तारको योजना रहेको बताउँदै उहाँले भन्नुभयो, “आरडिटी पोजिटिभ निको हुँदै गरेको अवस्था वा निको भएको अवस्थामा देखिने एन्टिबडी हो, नयाँ सङ्क्रमितको हकमा आरडिटीमा पोजेटिभ देखिदैन, त्यसैले आरडिटी परीक्षण क्वारेन्टिनमा दुई हप्ता बसेकाको मात्र गर्ने हो ।”

कुनै लक्षण नदेखिएका सङ्क्रमित व्यक्तिबाट दुई हप्तापछि अरुलाई सर्ने सम्भावना नरहने भन्दै मुख्यमन्त्री पोखरेलले आरडिटी परीक्षण पोजेटिभ देखिँदैमा चिन्ता गर्नु नपर्ने उल्लेख गर्नुभयो । रोगको लक्षण देखिएकाको हकमा सबैको पिसिआर विधिबाट परीक्षण गर्ने गरिएको जानकारी गराउँदै उहाँले कन्ट्रयाक ट्रेसिङअन्तर्गत पिसिआर विधिबाट परीक्षण गर्नका लागि पनि कम्तीमा पाँच दिन क्वारेन्टिनमा बस्दा सही परिणामको सम्भावना हुने बताउनुभयो ।

“सङ्क्रमितको सम्पर्कमा आएकाले पनि जानकारी प्राप्त हुनासाथ क्वारेन्टिनमा बसौँ, परीक्षणमा केही न केही इरर हुने गर्दछ, त्यसैले नेगेटिभ भयो भनेर स्वास्थ्य सुरक्षा र सामाजिक दूरीलाई बेवास्ता नगराँै”, मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

डब्लुएचओको प्रोटोकलअनुसार नै परीक्षण र आइसोलेसनका यी विधि प्रयोगमा ल्याइएको जनाउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, “जिल्ला स्वास्थ्य र स्वास्थ्य प्राविधिकको सल्लाहअनुसार नै परीक्षणका आवश्यक विधि र तालिकाअनुसार अघि बढाऔँ ।”रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot