Logo

नेकपा फुटको संघारमा, रोकिएला त दुर्घटना ?



काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ । पार्टी अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीको स्थायी कमिटि बैठकमा बहुमत सदस्यले राजीनामा मागेपछि फुटको सम्भावना बढेको हो । यसको खुलासा उपाध्यक्ष बामेदव गौतमले गरेका छन् ।

ओलीले राजीनामा दिएर बढ्ने या नयाँ पार्टी गठन गरेर जानेबाहेकको विकल्प नहुने अवस्था बनेपछि एकीकरणको दुई वर्ष नबित्दै नेकपामा दुर्घटना बढेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्घय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमलगायत अधिकांश नेताहरुले उनको राजीनामा मागेका हुन् । बैठकमा राजीनामा मागिएपछि ओली बीचैमा उठेर निस्किएका थिए ।

नेकपाका पदाधिकारीसहित सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल समेत गरी छ जना हस्तीहरु एकजुट भई ओलीविरुद्ध एकतृत भएका छन् । अब ओलीले संसदीय दलमा आफूलाई बलियो राखेर टिक्ने प्रयास गर्नेछन् । तर, पार्टीमा उनी अल्पमतमा परेपछि सहज नहुने देखिएको छ ।

ओलीको निर्देशनमा एमाले नाममा दल दर्ता गर्न लागिएको खुलासा उपाध्यक्ष बामदेव गौतमले गरेका छन् । उनले आज बसेको स्थायी कमिटि बैठकमा उक्त खुलासा गरेपछि तरंग आएको छ । प्रधानमन्त्री पद छाड्नुभन्दा अर्को विकल्प तयार गरी नयाँ पार्टी खोलेर बढ्ने सम्मको ओलीको रणनीति देखिएको छ ।

‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु,’ गौतमको भनाई उदृत गर्दै उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले फेसबुकमा लेखेका छन् ।

नेकपाभित्र ठुलै दुर्घटनाको संकेत ओलीका विश्वापात्र गोकुल बाँस्कोटाले पनि गरेका छन् । उनले प्रधानमन्त्रीमाथिका हमलाहरु योजनावद्ध भन्दै यसलाई बदनाम, आक्रमण र ध्वस्त भनेका छन् । ध्वस्त लेख्नुले ठुलै दुर्घटनाको खतरा देखिएको छ । उनले लेखेका छन्, ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’

नेकपाभित्र नेताहरु एक अर्काविरुद्ध प्रस्तुत हुँदा फुटको समेत खतरा दुवै पक्षले औल्याएका छन् । यसको भित्री तयारी ओली पक्षले गरिरहेको चर्चा नेकपाभित्र चलेको छ । यसबारे ओली पक्षले केही बोलेको छैन । निर्वाचन आयोगमा एमाले पार्टी दर्ताको तयारी भइरहेको विषय बाहिर खुलेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot