Logo

ओली, प्रचण्ड र नेपाल तीनतिर !



साउन ५, काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्रको विवाद समाधानका लागि खुमलटार, बालुवाटार कोटेश्वरका भेटघाट र दौडधुपमा व्यस्त छन् । तर अकाए अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग अलिकति सहमतिको संकेत मिल्ने बित्तिकै झस्किने नेपाल समूह र नेता नेपालको नाम समेत सुन्न नचाहने ओलीका बीचमा तालमेल मिलाउन नसक्दा दाहाल कहिले यता र कहिले उता ढल्किरहेका छन् ।

नेकपाभित्र अहिले केपी ओली, दाहाल र माधवकुमार नेपालका त्रि–शक्ति केन्द्र हावी छ । यीमध्ये दुई नेता जता हुन्छन्, पार्टीको मूल समीकरण त्यतै ढल्कन्छ । त्यसैले अन्य दुई समूहसँग कहिले यता र कहिले उता गर्नेमा सबभन्दा अगाडि प्रचण्ड नै देखिन्छन । प्रधानमन्त्री ओलीले दल विभाजनलाई सहज हुने अध्यादेश ल्याएपछि चर्किएको नेकपाको विवादमा दाहालले वरिष्ठ नेता नेपाल लगायतसँग मिलेर ओलीको आलोचना गरिरहेका थिए । त्यो बेलाको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले सबै नेताहरू मिलेर जाऔं, आत्मालोचना गरौं भनेका थिए । त्यती हुदाँ–हुदै पनि दाहालले त्यसबेला पनि अन्तिम घडीमा ओलीकै पक्ष लिएका थिए  ।

एक महिनाको रस्साकस्सी पछि ओली दाहाललाई मंसिरमा हुने विशेष महाधिवेशनमा एक अध्यक्षका रूपमा अघि बढाउने र आफु पाँचै वर्ष सरकारको नेतृत्व गर्ने भनेर सहमतीको नजिक पुर्याएका थिए । शनिबार फेरि सचिवालय बैठक सुरु हुनुअघि ओलीले महाधिवेशनकै विषय निकाले । बरु मंसिरसम्म पार्टीका सबै काम दाहालले नै गर्ने, मन्त्रिपरिषद् हेरफेर, प्रदेश सरकारहरू परिवर्तन गर्ने र त्यहाँ नेपाल समूहका नेताहरूलाई व्यवस्थापन गर्नेलगायत विषयमा उनीहरूबीच सहमति जुटेपछि दाहालले नै ‘अर्ली’ महाधिवेशनको कुरा राख्न ओलीलाई प्रस्ताव गरेको बालुवाटार स्रोतको दाबी छ । ओलीले सचिवालयमा औपचारिक रूपमा प्रस्ताव पेस गरे त्यसलाई कमिटीमा छलफलको विषय बनाएर निर्णय गराउने सोचमा दाहाल थिए ।

त्यसैले शनिबार ओलीले महाधिवेशनको प्रस्ताव गर्दा दाहालले समर्थन गरे, उनीनिकटका अरू नेताहरूले दाहालमाथि फेरि अविश्वास गरे । सचिवालयमा करिब ४ घण्टा महाधिवेशन वरिपरिकै छलफल भएपछि सदस्यहरूले त्यसबारे लिखित प्रस्ताव ल्याउन अध्यक्षद्वयलाई आग्रह गरेसँगै बैठक सकियो । लगत्तै त्यही प्रस्तावको बारेमा छलफल गर्न ओली राष्ट्रपति भवन शीतल निवास पुगे र दाहाललाई पनि त्यहीँ बोलाए । जहाँ दाहाललाई सहमतिका लागि दबाब दिइएको थियो ।

तर नेपाल पक्षधरले उक्त प्रस्तावमा सहमति नगर्न दबाब दिएपछि प्रचण्ड पछि हटे । नेकपाका दोस्रो बरीयताका नेताहरु समेत यसबिचमा सहमती खोज्नका लागि अहोरात्र नखटेका होईनन् । यसअघि असार २६ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक एक साता पर सारेर नेताहरूले छलफललाई निरन्तरता दिए । तर पटक पटकको छलफल निरर्थक भयो । यसबिचमा चितवन पुगेर दाहालले एकता भाँड्न आफू र ओली दुवैलाई उचाल्नेहरू सक्रिय रहेको अभिव्यक्ति दिएपछि अध्यक्षद्वयका बीचमा कुनै गोप्य सहमति भएको हो कि भनेर आशंका गर्नेहरू झस्किए ।

आशंका दूर गर्न अध्यक्षद्वय र नेपालबीच साउन १ गते बालुवाटारमा करिब चार घण्टा वार्ता भयो । तर उक्त वार्ता झन् भाँडियो । समस्यालाई पार्टीको केन्द्रीय कमिटीमा लैजानुपर्ने भन्दै तीन नेताबीच केन्द्रीय कमिटी बैठक आह्वान गर्ने सहमति जुट्यो । तर केन्द्रीय कमिटी बैठकमा जाँदा समस्या झन् बल्झिने सुझाव दिएपछि शुक्रबार फेरि ओली र दाहाल छलफलमा जुटे र शनिबारका लागि सचिवालय बैठक डाकिएको थियो । तर उक्त बैठकमा अर्ली महाधिवेशनको प्रस्ता भए पनि त्यतिकै तुहियो । त्यसपछि औपचारिक रुपमा छलफल भएको छैन । जसका कारण मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक फेरी स्थगित हुने हो कि भन्ने आशंका उब्जिएको छ ।

जबजको प्रवेश
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि नेकपामा जबजले प्रवेश पाएको छ । ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक देखिएपछि बरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को विषय उठान गरेका हुन् । उनले जबजका सिद्धान्तलाई बोकेर आफू देशब्यापी दौडाहा निस्किने बताउँदै अध्यक्ष पदको उम्मेद्वार आफू पनि रहेको प्रष्ट संकेत दिएका छन् ।

राजीनामाको दबाब बढेपछि ओलीले असार ३१ गते वान टुवान वार्ताका क्रममा दाहाललाई मंसिरमा महाधिवेशन गर्ने र सोही महाधिवेशनबाट अध्यक्ष पद सुम्पिने आश्वासन बाडेका थिए । सो आश्वासानपछि मख्ख परेका दाहाल अर्लि महाधिवेशका विषयमा सकारात्मक बनेका छन् । महाधिवेशनको प्रस्तावपछि अकस्मात युटर्न भएका दाहालसँग उनलाई साथ दिदै आएका वरिष्ठ नेता नेपाल रुष्ट बनेका छन् । ओलीसँग मिलेर दाहालले आफूलाई एक्लाएको महशुस गरेका नेता नेपाल आफू निकटका नेताहरुसँग छुट्टै छलफलमा जुटेका छन् । दाहालले आफूलाई धोका दिएर ओलीसँग मिल्न गए अर्लि महाधिवेशनबाट त्यति सजिलै अध्यक्ष हुन नदिने रणनीति बनाउन नेता नेपाल लागि परेका छन् ।

जसको प्रष्ट संकेत उनले महाधिवेशन हुने भए आफू जवजको एजेन्डा लिएर देशदौडाहामा निस्किने बताएर गरेका छन् । स्रोतका अनुसार आइतबार दाहाल निवासमा भएको छलफलमा नेता नेपालले जबजमा खुला छलफल आवश्यक रहेको भन्दै जबज नै अहिलेको मूल कार्यदिशा हुनुपर्ने बताएका थिए ।

ओलीले महाधिवेशनको प्रस्ताव र नेता नेपालले जबजको विषय उठाएसँगै दाहाल पनि आफू निकटका नेतासँग अलग्गै छलफलमा जुटेका छन् । यो छलफलसँगै दाहालले कस्तो रणनीति अपनाउँछन् त्यो अहिले नै भन्न सकिने अवस्था छैन् । तर, ओलीले फालेको महाधिवेशनको बल्छिकै कारण दाहाल र माधव नेपालबीच फाटो आउने अवस्था सृजना भएको छ । यदि यस्तो भयो भने ओली फेरि पनि पार्टीमा एकलौटी राज गर्न सफल हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot