Logo

दुई अध्यक्षमध्ये एकजना अध्यक्ष अर्को प्रधानमन्त्री हुँदा राम्रो हुन्छ, छलफल कायमै छ : गजुरेल



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुनु नै राम्रो हुने तर्क गरेका छन् । मूलतः दुई अध्यक्षबीच नै सहमति भएर पार्टी एकता भएकोले अहिलेपनि दुवै जना मिलेर अघि बढ्दा नै राम्रो हुने उनको तर्क छ । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब प्रधानमन्त्री ओलीको राजीनामा माग्ने च्याप्टर क्लोज भएको संकेत गरेका छन् । स्थायी कमिटी बैठकमा अब सरकार र पार्टीको समिक्षा हुने तर ओलीले राजीनामा दिनुपर्ने विषय नउठ्नेतर्फ गजुरेलले संकेत गरेका छन् । प्रस्तुत छ गजुरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको पार्टी जुट्छ कि जुट्दैन ? नेताहरूको बीचमा मन मिल्छ कि मिल्दैन ?

मिल्छ, मिल्छ । स्थायी समितिको बैठकमा छलफल हुन्छ ।

स्थायी समितिको बैठक हुन्छ आज ?

हुन्छ, हुन्छ । नेताहरूको गृहकार्य कस्तो छ, मलाई जहाँसम्म लाग्छ, हुन्छ ।

आज बैठक भयो भने कुरा मिल्छ ?

आज मिलिहाल्छ, आज टुंगिहाल्छ भन्ने कुरा त होइन । अलिकति छलफल भईसकेपछि त्यहाँबाट पनि केही कुराहरू आउँछ । बैठकमा केही साथीहरूले बोल्न बाँकी छ । त्यसपछि विषयवस्तुमा छलफल गरेर जुन हामीले एजेण्डाहरू राखेका छौँ, त्यसमा छलफल गरेर, अस्ति अब एजेण्डबाट बाहिर गएर छलफल भयो । अहिलेको एजेण्डामा छलफल हुन्छ । त्यसपछि कसरी पार्टीलाई एकताबद्ध गर्ने भन्ने कुरामा छलफल हुन्छ । मुख्यत ः प्रधानमन्त्री र प्रचण्डजी ले पहल लिनुपर्छ भन्ने छ । मलाई त वहाँहरूले गम्भीरतापूर्वक सबै विषय सुनेर निर्णय लिनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।

तपाईले हिजो प्रचण्ड र के.पी. ओली मिल्नुपर्छ भन्नुभएको थियो । मिलेर जाने सम्भावना कति छ ?

दुईजना अध्यक्षहरू वहाँहरू हुनुहुन्छ । वहाँहरू मिल्नुपर्छ । वहाँहरू मिलेर नै एकता भएको हो । मिल्नुपर्छ त्यो स्वाभाविक कुरा हो ।
हिजो तपाईहरूले के के गर्नुभयो प्रचण्ड निवासमा ? के के सुझाव दिनुभयो त ?
मुख्य कुरा पार्टीलाई एकताबद्ध गर्नुपर्छ । पार्टी र सरकारको कामलाई गतिशील बनाउनुपर्छ । अरू विकल्प छैन । त्यतातिर पहल गर्नुहोस्, हाम्रो साथ हुन्छ भन्ने सुझाव दिन चाहन्छु ।

त्यसो भए तपाईहरूले के.पी. ओलीसँग मिलेर जान सुझाव दिनुभएको हो, प्रचण्डलाई ?

मिल्ने भनेको दुर्ईजना अध्यक्ष वहाँहरू नै हुनुहुन्छ, मिल्ने भनेको दुईजना अध्यक्षहरू हुनुभयो, व्यक्ति मिल्ने कुरा भएन, दुईटा पृष्ठभूमिबाट आएका, नेतृत्व गरेर आएकाहरू हुन्, मिल्नुपर्छ । केन्द्रिकरण वहाँहरूमा भएको हुनाले वहाँहरूले प्रतिनिधित्व गर्नुपर्छ ।

त्यसो भए एकता र संघर्ष के.पी. ओलीसँगै हो प्रचण्डजीको, द्वन्द्व र विवाद पनि ?

एकता र संघर्ष त भई नै राखेको हुन्छ, निरन्तरमा । कहिलेकाही बढी हुन्छ, कहिलेकाही कम हुन्छ । मूल त अहिले भइरहेको दुईजना अध्यक्षबीचमा नै हो ।

दुईजना अध्यक्षबीचमा भएको द्वन्द्व, विवाद र समस्याको समाधानको सञ्जीवनी बुटि के हो ?

व्यक्तिगत वहाँहरूको कुरा हो । प्रतिनिधित्व गर्नुहुन्छ, वहाँहरूले त्यस अर्थमा भनेको हो मैले ।

प्रचण्डले भन्नुभएको छ, हिजो तपाईहरूलाई साक्षी राखेर । एकता जोगाउन ओलीसँगको सम्झौता, विधि र पद्धति जोगाउन माधवकुमारसँग सम्झौता । खास कुरा के हो ?

दुइटै कुरा हो । विविध पद्धतिको कुरामा बिना विधि, पद्धतिमा एकता हुँदैन । विधि, पद्धतिबाट मात्रै पनि एकता भईहाल्छ भन्ने कुरा पनि हुँदैन । त्यहाँ त विचार पनि हुन्छ, नीति हुन्छ, कार्ययोजनाहरू हुन्छन् । मुख्य कुरा त के भने विचारमा पार्टी चल्नुपर्छ भन्ने कुरामा पनि गम्भीर रूपमा छलफल भईराखेको छ । फेरि अर्को नयाँ विचारमा पार्टी नयाँ ढंगले अगाडि जानुपर्छ भन्ने कुरामा पनि गम्भीर रूपमा छलफल चलिरहेको छ । यी दुइटै कुराहरू अन्तर्सम्बन्धित कुराहरू हुन् ।

प्रधानमन्त्रीलृे अहिले दुबै पद छोड्नुपर्दैन, अध्यक्ष पनि, प्रधानमन्त्री पनि ?

साथीहरूले एउटा पृष्ठमा राख्नुभयो केही कुराहरू, त्यो परिस्थितिमा त्यस्तै कुरा उठ्यो । अब हामीले पोजिटिभ ढंगले सोच्नुपर्छ । कामहरू प्रभावकारी बनाउनुपर्छ । कामलाई ठोस रूपमा अगाडि नबढाएसम्म सरकारका कामहरू पनि गतिशील बन्न सक्दैन, पार्टीको काम पनि गतिशील बन्न सक्दैन भन्ने कुरामा आमसहमति छ ।

उसो भए प्रधानमन्त्रीका नै नेतृत्वमा सरकार पनि जान्छ । वहाँकै नेतृत्वमा पार्टी पनि जान्छ ?

अहिले एक व्यक्ति एक पद भन्ने कुरा पनि गम्भीर ढंगले उठिरहेकै छ । त्यो त पहिलेदेखि नै उठिरह्ेको, अहिले पनि उठिरहेको छ । पार्टीको कामलाई अगाडि लग्न चैतमा हामीले महाधिवेशन गर्ने भनेका छौँ । चैत पनि आउन धेरै समय बाँकी छैन । त्यसो भएको हुनाले पार्टी र सरकारको कामलाई अलग अलग ढंगले लग्ने कुराले पनि काम अलि व्यवस्थित ढंगले जान्छ । एकजना अध्यक्ष हुने र एकजना प्रधानमन्त्री हुने राम्रो हुन्छ । त्यसमा अहिले पनि छलफल कायमै छ ।

प्रचण्डले के.पी. शर्मा ओलीलाई हटाउन तयार छैन भन्नुभएको छ ? प्रधानमन्त्रीलाई समर्थन गर्नको लागि प्रचण्ड युटर्न हुनुभयो ?

प्रचण्डको त्यस्तो थिएन, सुरुदेखि नै । बैठकको सुरुवातमा पनि त्यस्तो थिएन । प्रधानमन्त्रीले नै केही कुराहरू बोलिदिनुभयो । त्यसकारण त्यो बेलामा एक ढंगले कुरा उठेको हो । मेरो हिजो माधवकुमार कमरेडसँग पनि कुरा भयो । वहाँले पनि होइन, त्यस्तो होइन, त्यो एउटा परिवेश आयो भन्ने कुरा गर्नुभयो । त्यस्तो गर्नुपर्दैन भन्ने कुरा वहाँको पनि रहेछ ।

आज वी.पी. कोइरालाको स्मृति दिवस पनि हो । वी.पी. कोइरालाले अगाडि सारेको समाजवादी नीति अंगीकार गरेको हो, आत्मसात् गरेको हो ?

वी.पी. को समाजवाद अर्को मोडलको हो । हाम्रो समाजवाद कम्युनिष्ट आन्दोलनभित्रको समाजवाद हो । त्यो पूँजीवादभित्रको समाजवाद हो । त्यसकारण त्यो त फरक छ । तर पनि अहिले समाजवाद उन्मुख भएको संविधानको सन्दर्भ आउँदा मलाई लाग्छ, वी.पी. को ए्ेतिहासिक भूमिका पनि त्यहाँ जोडिन्छ । ती संविधान निर्माणको भूमिकामा, ती ०७ सालको आन्दोलनको नेतृत्व वहाँले गरेको सन्दर्भ आउँदा समाजवादतिर जानुपर्छ भन्ने कुरालाई हामीले बेवास्ता गर्नुहुँदैन ।

वी.पी. कोइरालालाई कसरी सम्झनुहुन्छ, आजको दिनमा ?

वी.पी. कोइराला, निष्ठाको राजनीति गर्नुभयो वहाँले । राणाशाही विरुद्धको आन्दोलनको नेतृत्व गर्नुभयो । निरन्तर रूपमा संघर्ष गरिरहनु भयो । कतिपय बेलामा उतारचढावहरू आए पनि लगातार वहाँले प्रजातान्त्रिक आन्दोलनको लागि संघर्ष गर्नुभयो । वहाँलाई राष्ट्रले पनि मान्दछ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot