Logo

ललितपुरमा पहिरो र डुबान



ललितपुर, ८ साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारण ललितपुरको दर्जनौं ठाउँमा पहिरो गएको छ भने केही ठाउँ डुबानमा परेका छन्। धापाखेल, नक्खु, टीकाथली, किस्ट अस्पताललगायत स्थानमा डुबानमा परेका हुन्। केही घरहरू पहिरोको उच्च जोखिममा परेका छन्। दर्जनौं ठाउँमा गएको पहिराले दक्षिण ललितपुर–काठमाडौं सम्पर्क टुटेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार दक्षिण ललितपुरको बागमती, कोन्जोस्योम र महांकाल गाउँपालिका जाने सडक अवरुद्ध भएका हुन्। टीकाभैरव हुँदै घुसेल जाने सडक, पाङदुर डोल, भालुखोला, रातो भीर, लुकुनी भीर, नयाँ गाउँ, ससिता भन्ज्याङ, मानिखेल, कालचे, रुम्बा टोल, बिर्खेधारा, खयरघारीलगायत ११ भन्दा धेरै ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको परिसरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जनाए। उनले भने, ‘अझै विवरण लिने काम निरन्तर भइरहेका छ। डुबान र पहिरोको जोखिममा रहेकाहरूको प्रहरीले उद्धार गरेको छ। ’

बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लामाका अनुसार हालसम्म मानवीय क्षति भने भएको छैन। यद्यपि पहिरोले दक्षिण ललितपुरको जनजीवन प्रभावित बनेको बताए। मंगलबार गाउँपालिकाका सडक हेरेर काठमाडौ फर्किएका उनले गाउँपालिकाका पुग्न कठिन भएको जनाए। उनका अनुसार कान्ति लोकपथ पूर्ण रूपमा बन्द छ। यसले काठमाडौं आउनेहरू मारमा परेका छन्।

त्यस्तै महांकाल गाउँपालिका जाने सम्पूर्ण सडक बन्द भएको प्रहरीले जनाएको छ। अर्को कोन्जोस्योम गाउँपालिका जान पनि समस्या भएको छ। ललितपुरको कर्णालीको रूपमा चिनिएको यी तीन गाउँपालिका बर्खामा सधै मारमा पर्ने गरेको अध्यक्ष लामाले बताएका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot