Logo

चीनद्वारा अतिक्रमित नेपाली भूमिमा दाबी, परराष्ट्र अझै बोलेन



काठमाडौं, ७ असोज । चीनले हुम्लास्थित लाप्चा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको विषय खुलेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ । तर, चीनले अतिक्रमित भूमिलाई आफ्नो भनेको छ ।

मङ्गलबार साँझ चिनियाँ राजदूतावासले विज्ञप्तिमार्फत् उक्त भूभाग चीनतर्फ रहेको प्रमाणित गरिएको दाबी गरेको छ । चिनियाँ दूतावासका प्रवक्तामार्फत् विज्ञप्तिमा भनिएको छ, ‘मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।’

चीनले हुम्लामा अतिक्रमित क्षेत्र मिडियाको मात्र खबरका रुपमा उल्लेख गरेको छ । तर, अतिक्रमित भूमिबाट चिनियाँ पक्षको निर्माण रोक्न पहल भइसकेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगी अध्ययन तथा छलफल गरिसकेको छ । नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ चिनियाँ पक्षले निर्माण कार्य गरिरहेको क्षेत्र नेपालको रहेको स्पष्ट पारिसकेका छन् । उक्त क्षेत्रमा पिलरको खोजी समेत भइरहेको छ ।

चिनियाँ पक्षले भने नेपाली पक्षले पुनः प्रमाणिकरण गर्न सक्ने बताएको छ । चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता र अखण्डताको सधै सम्मान गर्ने भन्दै कुनै सीमा विवाद नरहेको बताएको छ ।

तर, सरकारी तहमै अतिक्रमित भूमिबारे चासो बढेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षाकर्मीसहित उकत क्षेत्रमा पुगेका छन् ।
हुम्लामा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको खबर सार्वजनिक भइसकेको छ । चिनियाँ सैनिकले उक्त क्षेत्र चीनको भन्दै नेपालीलाई प्रवेश गर्न रोकेको छ । यसबारेको रिपोर्ट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत पुगेको छ । तर, परराष्ट्र मन्त्रालयले अतिक्रमित उक्त भूभागबारे अहिलेसम्म केही बोलेको छैन ।

कैलाश मानशरोवर क्षेत्र स्पष्ट देखिने उक्त क्षेत्र भूसामरिक दृष्टिले महत्वपूर्ण छ ।-फाइल तस्वीर: मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्