Logo

चिनियाँ पक्षको आरोप- नेपाली काँग्रेस ‘भारतपरस्त’



काठमाडौं, १ कात्तिक । चीनको विदेश मामलासम्बन्धी धारणा सार्वजनिक गर्दै आएको ग्लोबल टाइम्सले नेपाली काँग्रेसलाई भारतपरस्तको आरोप लगाएको छ । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपाली काँग्रेसले चासो बढाएपछि चिनियाँ पक्षले यस्तो आरोप लगाएको हो ।

‘नेपाली काँग्रेस प्रो-इन्डिया शक्ति हो,’ ग्लोबल टाइम्सले चीनले नेपाली भूमि अतिक्रमण नगरेको भन्दै हुम्लासँग सीमा जोडिएको बोराङ क्षेत्रका विदेश मामला हेर्ने अधिकारीको भनाई समेत जोडेर विश्लेषणात्मक खबरमा भनेको छ । कर्णाली प्रदेशका काँग्रेस संसदीय दलका नेताले चीनले सीमा अतिक्रमण गरेको बताउँदै आएका छन् । उनी स्थलगत भ्रमण सकी आफूहरुसँग प्रमाण भएको बताइरहेका छन् । काँग्रेसले पनि यसबारे आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारको चर्को आलोचना गरेको छ ।

ग्लोबल टाइम्सले हुम्लाको सीमा विवादमा भारतले खेल्न खोजेको आरोप समेत लगाएको छ । भारतीय मिडियाले घटनालाई तोडमोड गरी दुष्प्रचार गरेको आरोप लगाएको छ । उसले लेखेको छ, भारतको नेपालसँग लामो सीमा विवाद छ । भारत सरकारले २०१९ मा नेपालसँगको विवादमा रहेको भूमी समेत आफ्नो नक्शामा राखेको ग्लोबल टाइम्सले भनेको छ । जवाफमा नेपालले कालापानीसहितको भूमि समेटेर नयाँ नक्शा बनाएको समेत लेखेको छ ।

ग्लोबल टाइम्सले चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले अन्तवार्तामार्फत् भारतीय मिडिया पूर्वाग्रही रहेको भन्दै गलत समाचार र दुष्प्रचार गर्ने गरेको भनेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot