Logo

के ओलीबाट गणतन्त्र र संघीयतामाथि खतरा छ ?



समाचार विश्लेषण । यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र द्वन्द्व छ । कुनैपनि बेला नेकपा दुर्घटनामा पर्ने र त्यसले गम्भीर राजनीतिक अस्थिरता बढाउने खतरा बढ्दैछ । सडकमा हिन्दुवादी र राजावादी उत्रिएका छन् । उनीहरु हिन्दुराष्ट्र र राजसंस्था पुर्नबहालीको माग राखिरहेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नै सत्तामा हुँदा हिन्दुवादी र राजावादी सडकमा उर्लने क्रम बढ्दो छ ।

ओली खाट्टी गणतन्त्रवादी नभएको नेकपाभित्रै भन्ने गरिन्थ्यो । डेढ दशकअघि देशमा गणतन्त्रको नारावाजी हुँदा ओलीले बालकोटमा बसेर बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु र यो आन्दोलनले गणतन्त्र ल्याउँछ भन्नु एकै हो भनेका थिए । उनलाई त्यतिबेला राजसंस्थाका पक्षधर समेत भनियो । ओलीले प्रचण्ड र बाबुरामले जसरी गणतन्त्रको पक्षमा कडा अभिव्यक्ति कहिले दिएनन् । बरु उनले गणतन्त्रका पक्षधर माओवादीप्रति कडा अभिव्यक्ति दिइरहे । व्यङ्ग्य गरिरहे । उनले धर्मनीरपेक्षको पक्षमा पनि बोलेका थिएनन् । संघीयतासँग उनको कुनै चासो थिएन । संघीयताको नाममा जातीय राजनीति भएकोमा ओली आलोचना गरिरहन्थे ।

यतिबेला ओली सत्तामा छन् । उनले देशको नामको अगाडि संघीय गणतन्त्र शब्द हटाउन लगाएर नेपालमात्र राखे । यसप्रति सत्ताभित्र र बाहिरबाट पनि विरोध भयो । अहिले राजावादी सडकमा उर्लिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीबाट गणतन्त्र नै खतरामा परेको टिप्पणीहरु आइरहेका छन् । विध्वंशकारी अध्यादेशहरु आउने विषय उठिरहेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको देशव्यापी विरोध प्रदर्शनका क्रममा हेटौंडामा बोल्दै ओलीले राजतन्त्र फर्काउने भूमिका खेलिरहेको आरोप लगाए । उनले भने,‘ओलीले राजा ल्याए थाहाछैन ।’ देउवाले भने राजा कुनै हालतमा नल्याउने बताए । तर, ओलीप्रति उनले आशंका व्यक्त गरे ।

दुई तिहाईको सरकार सञ्चालन गरिसकेका ओलीले सत्ता संकट आउँदा व्यवस्थाप्रति नै धावा बोल्ने गरी गतिविधि गरेको आरोप खेप्न थालेका छन् । शुरुमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल विभाजन सजिलो बनाउन खोजे । उनले पार्टीभित्रका विरोधीलाई ब्याक हुने शर्तमा अध्यादेश फिर्ता लिए । पछिल्लोपटक संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका छन् । प्रचण्डलगायत पार्टीभित्रका विरोधीलाई ब्याक हुने शर्तमा फिर्ता गर्ने सहमति गरेका छन् तर पालना गरेनन् । अहिलेको अध्यादेश अनुसार संवैधानिक निकायमा नियुक्ति गर्न खोजिरहेका छन् । यो कदम चालेमा नेकपाभित्र टकराव बढ्दै जाने देखिन्छ ।

ओलीको पछिल्लो प्रहार प्रचण्डमाथि केन्द्रित हुँदै गएको छ । प्रचण्ड आफूलाई गणतन्त्रको मसियाहा ठान्छन् । प्रचण्डलाई प्रहार गर्नु गणतन्त्रमाथि प्रहार गर्नु हो भन्ने धेरैको बुझाई छ । प्रचण्डले नेतृत्व गरेको दश वर्षे जनयुद्धनै गणतन्त्रको मुख्य कारण बनेको यथार्थ हो । उनीमाथिको प्रहारले धेरैमा गणतन्त्र नै जान लाग्यो भन्ने आशंका बढेको छ ।

देशमा संसदीय गतिविधि राम्ररी हुन सकेको छैन । पाँच महिनायता संसदको अधिवेशन बस्न सकेको छैन । बरु अधिवेशन बोलाउने सिफारिश नगरेर धमाधम अध्यादेश ल्याउन थालिएको छ । कुनैपनि बेला संसद बिघटन गरी मध्यावधिको घोषणामा जाने ओलीको भावी कदम हुनसक्ने आँकलन समेत गरिएको छ । यो अवस्था आएमा देशमा व्यवस्था नै धरमराउन थाल्छ । त्यो हदसम्म ओली जाने हुन् कि भन्ने संशय गणतन्त्रका पक्षधरहरुमा छ ।

ओलीले सत्ता छाड्न वाध्य पारिए कठोर कदम चाल्ने सन्देशहरु निरन्तर प्रवाह गरिरहेका छन् । उनीसँग संसद विघटन गरी मध्यावधि घोषणा पनि विकल्प छ । त्यो अवस्था आएमा राजनीतिक अस्थिरता बढ्न गई संकट बढ्न सक्छ । यही संकटको बेलामा उत्पन्न हुने राजनीतिक रिक्ततामा राजावादी मौलाउन सक्छन् । पछिल्लो समय राष्ट्रपतिलाई विवादमा तानिएको छ । यही गतिविधि बढ्दै गएमा गणतन्त्रमाथि नै वितृष्णा बढ्न थालेको छ । कुनैपनि व्यवस्था टिक्न त्यसको धरातल बलियो हुनुपर्छ । कतिपयका लागि गणतन्त्र, संघीयता र धर्मनीरपेक्ष मान्नु वाध्यकारी बनिरहेको छ । कतिपयका लागि सम्झौताले मान्न वाध्य पारेको प्रणाली पनि हो । अहिले यसरी नै वितृष्णा बढ्ने र सत्तापक्षबाटै विवादास्पद क्रियाकलाप बढ्दै गएमा व्यवस्था नै धरापमा पर्न सक्छ । त्यस्तो अवस्थामा राजनीतिक प्रणाली नै भत्कन सक्छ । प्रणाली जो जस्ले अभ्यास गर्छन् उनीहरु नै लथालिंग बनाउनेतर्फ लाग्छन् भने त्यस्तो प्रणाली टिक्न कठिन हुन्छ । पछिल्लो समय ओलीको कार्यशैली यसरी नै बढेमा गणतन्त्र धरापमा पर्न जान्छ ।

विगतमा जे जस्तो विचार राखेपनि ओली यो राजनीतिक प्रणालीमा आएर देशमा सर्वशक्तिमान भएका छन् । उनी यही व्यवस्था भत्काउन लाग्छन् ? यो गम्भीर प्रश्न छ । ओलीले आफ्नो सत्ता संकट टार्न सबैलाई डर देखाउन यी वातावरण सृजना गरिरहेको कतिपयको विश्लेषण रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot