Logo

देउवालाई ओली विरोधीहरुबाट प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शर्तसहित प्रधानमन्त्रीको प्रस्ताव पुगेको छ । उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रबाट प्रधानमन्त्रीको प्रस्ताव पुगेको हो ।

विश्वस्त स्रोतका अनुसार देउवा संसद पुनःस्थापनाको पक्षमा उभिएमा प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रचण्ड, माधवकुमार नेपालका अलावा अन्य शक्तिशाली नेताहरुले पनि गरेका छन् । यसै हप्ता देउवालाई भेटेका प्रचण्ड र नेपालले संसद पुनःस्थापनाको पक्षमा उभिएमा प्रधानमन्त्री बन्न सघाउने प्रस्ताव गरेका हुन् ।

देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रुपमा मिलेको चर्चा चलिरहेपछि प्रचण्ड र नेपालले नयाँ कार्ड फालेका हुन् । बरु देउवालाई प्रधानमन्त्री बन्न साथ दिने गरी संसद पुनःस्थापनामा लाग्ने उनीहरुको रणनीति देखिएको छ । देउवाले पछिल्लो समय अदालतको आदेश पर्खने जवाफ दिदै आएका छन् । तर, घुमाउरो पाराले उनले संसद विघटनको पक्ष लिएर मध्यावधि चुनावको तयारीमा लाग्न जोडबल गरिरहेका छन् ।

यसैगरी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि देउवालाई प्रधानमन्त्रीको प्रस्ताव पुगेको संकेत गरेका छन् । उनले अबको प्रधानमन्त्री देउवा बन्ने आँकलन गरे । गृहजिल्ला गोरखा पुगेर उनले सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको भएको र देउवाकै पालो आउने अनुमान गरेका हुन् । यो संसद पुनःस्थापनाको पक्षमा एकजुट भएर जाने र देउवालाई प्रधानमन्त्री बनाउने गरी तयार गरिएको रणनीतिको संकेत पनि हो ।

संसद पुनःस्थापनाको पक्षमा देउवा आएमा अदालतमाथि पनि दबाब बढ्ने विश्लेषण भइरहेको छ । अर्कोतर्फ, अदालतले जेसुकै फैसला गरेपनि देउवा पुनःस्थापनाको पक्षमा उभिए सडक आन्दोलनबाट सफलता हासिल गर्न सकिने बुझाई उनीहरुको छ । काँग्रेसभित्र रामचन्द्र पौडेल संसद पुनःस्थापनाको पक्षमा स्पष्ट रुपमा उभिएका छन् । देउवा भने चुनावमा जान आतुर छन् । देउवालाई प्रधानमन्त्री दिने गरी फकाउन नेताहरु सक्रिय भएका छन् ।-फाइल तस्बिर 



प्रतिक्रिया दिनुहोस्

Screenshot