Logo

रघु पन्तले कोमल वलीलाई फोन गरेर भनेः मलाई धेरै गाली नखुवाऊ



काठमाडौं, १७ फागुन । सांसद कोमल वलीको नामै लिएर विवादास्पद टिप्पणी गरेर आलोचित नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तले सार्वजनिक रुपमा माफी मागे । तर, कोमल वली उनलाई कारबाही गरेरै छाड्नेमा दृढ छिन् ।

वलीलाई हिजो रघु पन्तले टेलिफोन गरेर आफूलाई धेरै गाली नखुवाउन भने । ‘मलाई धेरै गाली नखुवाऊ,’ पन्तले वलीसँग टेलिफोनमा भने । तर, वलीले उनीसँग धेरै कुरा गर्न चाहिनन् । उनले पछि कुरा गरौंला भनेर राखिदिइन् ।

कोमल वली रघुजी पन्तविरुद्ध अदालत जाने तयारीमा छिन् । उनी त्यसबारे निकटस्थ र कानुन व्यवसायीसँग परामर्शमा रहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि पन्तको अभिव्यक्तिबाट निकै चिढिएका छन् । महिलाविरुद्ध जथाभावी बोल्ने क्रम बढेको भन्दै सहन नसकिने निकटस्थलाई बताएको बुझिएको छ ।

माधव नेपाल निकट मानिने नेकपा नेता रघुजी पन्तले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’ यसले उनको सर्वत्र आलोचना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot